५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति
अ+ अ-

त्रिशूली (नुवाकोट), ५ असोजः बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल नियमित काममा जाने तयारीमा हुनुहुन्थ्यो । त्रिशूली नदीको किनारबाट केही दूरीमा घर भएकाले नदीमा ठूलो बाढी आए पनि आफ्नो घरसम्म त्यसको असर पुग्ला भन्ने उहाँलाई लागेको थिएन । त्यसैले भदौ १० गते बिहान ‘बाढी आउँदैछ’ भन्ने सूचना पाए पनि त्यसले निम्त्याउन सक्ने विपत्तिको अवस्थाका बारेमा उहाँले अनुमान गर्न सक्नुभएन ।

घरबाट निस्कने तयारी गरिरहेका बेला प्रहरीले माइकिङ गर्दै भन्यो, “भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरेमा ठूलो क्षति पुर्याएको छ । ठूलो बाढी तीव्रगतिमा अघि बढिरहेको छ । तपाईँहरू सबै सुरक्षित स्थानतर्फ लाग्नुहोस् । ढुङ्गे चोकभन्दा अझ माथि जान अनुरोध गर्दछौँ”, माइकिङ गर्ने प्रहरी हवल्दार अर्जुन न्यौपानेलाई चिन्नुभएका उहाँले प्रहरीको नजिकै पुगेर सोध्नुभयो, “बाढी धेरै ठूलो हो ?” जवाफ आयो, “हो, धेरै ठूलो छ ।”

तर, ‘धेरै ठूलो’ भन्ने चेतावनीले पनि बाढीको वास्तविक अवस्था ठूलो होलाजस्तो लागेको थिएन । “नातिनी विद्यालय जाने बेला भएको थियो । सबै जनासँगै निस्कनुपर्ला भन्ने लाग्यो”, प्याकुरेलले भन्नुभयो । त्यसपछि उहाँ परिवारका सदस्यसँगै घरबाट निस्कने तयारीमा लाग्दै गर्दा केही समयमै त्रिशूलीको भेल अस्वाभाविक रूपमा बढ्यो । बाढीले घरलाई चारैतिरबाट घेर्यो । केही मिनेटमै ढुङ्गेबजार र आसपासका बस्ती बाढीको भेलमा परिणत भए ।

घरमै फसेका प्याकुरेलसहित परिवारका पाँच जना र एक छिमेकी गरी छ जनालाई स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले उद्धार गरे । बाढीको भेलबीच ज्यान जोगाउन सफल उहाँको घर अहिले ‘हरियो घर’का रूपमा परिचित छ । “सूचना त आएको थियो, तर यति ठूलो बाढी आउँछ भन्ने विश्वास लागेन । बाढी आँखैअगाडि आइपुग्दा सुरक्षित ठाउँमा जाने समय नै भएन”, उहाँले भन्नुभयो ।

बाढी हेर्न जाँदा आफैँ भेलमा

विदुर–१० वेत्रावतीका शशि डङ्गोलले पनि टिमुरेमा बाढीले क्षति पुर्याएको केही समयमै साथीमार्फत ठूलो बाढी आउँदै गरेको सूचना पाउनुभएको थियो । केही समयपछि वेत्रावती प्रहरी चौकीबाट समेत माइकिङ भयो, “बाढी आउँदैछ, सुरक्षित स्थानमा जानुहोस्, धेरै ठूलो बाढी आउँदैछ ।”

चित्रकलामा आफ्नो छुट्टै पहिचान बनाउनुभएका डङ्गोल सामाजिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँले वेत्रावती बजारका स्थानीयलाई पसल तथा व्यवसाय बन्द गरी सुरक्षित स्थानमा जान आग्रह गर्नुभयो । तर, अरूलाई सुरक्षित हुन आग्रह गरिरहनुभएका उहाँ स्वयं भने बाढीको अवस्था हेर्न नदी किनारतर्फ लाग्नुभयो । नदीतर्फ पुग्न नपाउँदै चारैतिरबाट आएको भेलले उहाँलाई घेर्यो । “बाढी हेर्न नदीतर्फ जाँदै थिएँ, एक्कासी चारैतिरबाट आएको बाढीले छोप्यो । केही सेकेन्डले ज्यान बच्यो”, डङ्गोलले भन्नुभयो ।

बाढीमा परेर उहाँको खुट्टाको मांसपेशी च्यातिएको छ । तर, शारीरिक चोटभन्दा आफ्नै आँखाअगाडि साथीभाइ र छिमेकीलाई त्रिशूलीले बगाएको दृश्यले उहाँलाई पीडा दिएको छ । “आँखैअगाडि आफ्ना साथी र छिमेकीलाई त्रिशूलीले बगाएर लग्यो । त्यो दृश्य जीवनमा कहिल्यै बिर्सन सक्दिन”, भावुक हँुदै उहाँले भन्नुभयो, “ठूलो बाढी आउँदैछ भन्ने थाहा थियो, तर कत्रो ठूलो भन्ने थाहा भएन ।”

अरूलाई खबर गर्न दौडिँदा आफ्नै परिवार गुमाएँ

रसुवाको उत्तरगया गाउँपालिका–१ तिरुका कर्मा तामाङको पीडा अझ गहिरो छ । गोरखा भूकम्पले विस्थापित गरेपछि उहाँ पछिल्लो १० वर्षदेखि उत्तरगया–५ स्थित त्रिशूली नदीकिनारको खाल्डेमा बस्दै आउनुभएको थियो ।

गत भदौ १० गते टिमुरेबाट बाढी अघि बढेको खबर पाएपछि उहाँ खाल्डे र नजिकैको सातबिसेमा बस्ने २५० भन्दा बढी परिवारसम्म खबर पुर्याउन दौडिनुभयो । तर, सूचना फैलाउन थालेको करिब १० मिनेट नबित्दै बाढी बस्तीमा आइपुग्यो ।

उहाँले भेलबाट भागेर ज्यान त बचाउनुभयो, तर बुबाआमा, श्रीमतीसहित परिवारका १५ सदस्य गुमाउनुभयो । उक्त बस्तीका १०० भन्दा बढी हराइरहेका छन् । “ठूलो बाढी आउँदैछ भन्ने थाहा थियो । तर, कत्रो ठूलो बाढी हो भन्ने अनुमान भएन । पोहोर (विसं २०८२ असार २४ गते)को जत्रै होला, बाढी आउन बेर लागिहाल्छ भन्ने थियो, सास फेर्न नपाउँदैमा छोपिहाल्यो”, तामाङले भन्नुभयो ।

सूचना पुग्यो, तर जोखिमको आकार बुझिएन

भदौ १० गतेको बाढी रसुवागढी, घट्टेखोला हुँदै टिमुरेबाट तल्लो तटीय क्षेत्रमा अत्यन्त तीव्रगतिमा फैलिएको थियो । टिमुरेबाट बाढीको सूचना त्रिशूली नदीकिनारका बासिन्दासम्म पुगे पनि त्यसले पुर्याउने क्षतिको अनुमान कल्पनाभन्दा धेरै गुणा ठूलो बन्यो ।

विदुर–१ ढुङ्गेका विष्णु श्रेष्ठका अनुसार २०१८ सालतिर पनि त्रिशूलीमा ठूलो बाढी आएको कुरा हजुरबुबाले सुनाउनुभएको थियो । त्यसबेला मानवीय भएन, भौतिक क्षति सामान्य रहेको उहाँको स्मरण छ । “हजुरबुबाले २०१८ सालमा ठूलो बाढी आएको सुनाउनुहुन्थ्यो । अहिले त त्रिशूली नदीबाट करिब ३०० मिटर पर र झन्डै १०० मिटर उचाइमा रहेको मेरो चार रोपनी धानखेत बगर बनायो”, श्रेष्ठले भन्नुभयो ।

बाढी आउँदैछ भन्ने खबर थाहा पाए पनि यति ठूलो विध्वंस होला भन्ने धेरैलाई लागेन । टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, शान्तिबजार, वेत्रावती, तुप्चे, त्रिशूली र देवीघाटलगायतका नदी आसपासका बस्ती बाढीले निमेषभरमै सिध्यायो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बाढीको सूचना प्रवाह भए पनि त्यसको गम्भीरता बुझाउन चुनौती देखिएको स्मरण गर्नुहुन्छ । उहाँका अनुसार विपद्का बेला सूचना समयमै पुग्नु जति महत्त्वपूर्ण छ, त्यसको गम्भीरता बुझेर तत्काल सुरक्षित स्थानमा पुग्नु पनि उत्तिकै आवश्यक हुन्छ ।

“सफा मौसम, घाम लागिरहेको वातावरणमा ठूलो बाढी आउँदैछ भनेर प्रवाह गरिएको सूचनालाई धेरैले पत्याउन र बुझ्न सकेनन्”, प्रजिअ रेग्मीले भन्नुभयो, “मानवीय क्षति कम गराउन सूचना कति छिटो पुग्यो भन्नेमात्र होइन, सूचनाको गम्भीरता कति बुझियो भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण हुने गर्दछ ।”

भोटेकोशी बाढीले विपद्का बेला सूचना प्रवाहसँगै त्यसको गम्भीरता बुझेर पालना गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुने देखाएको छ । बाढी आउँदैछ भन्ने सूचना प्राप्त गरे पनि त्यसलाई सामान्य रूपमा लिँदा सुरक्षित स्थानमा पुग्न सक्ने अवसर धेरैले गुमाए । त्यसैले विपद्को पूर्वसूचना पाउनेबित्तिकै त्यसको गम्भीरता बुझेर सावधानी अपनाउनु र सुरक्षित स्थानतर्फ जानु आवश्यक हुन्छ । रासस

फोटो- मिथुन कुँबर