१ आश्विन २०८३, बिहीबार
,
Latest
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता देउवालाई विदेशबाट खुलापत्र: अब कुर्सी होइन, विरासत रोज्नुहोस् शिक्षामन्त्री पोखरेलद्वारा शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन निर्देशन एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल संविधान संशोधनमा सर्वोच्चको फैसला : रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित पक्राउ एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित हिमालय एअरलाइन्सका कर्मचारीद्वारा विपद् उद्धार कोषमा १३ लाख २० हजार सहयोग चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला



अ+ अ-

काठमाडौं । सरकारले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्ने लक्ष्यसहित स्वदेशमै रोजगारीका अवसर विस्तार गर्ने अभियानलाई तीव्रता दिएको छ ।

आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा घोषणा गरिएको ‘रोजगार प्रवर्द्धन दशक (२०८३–२०९२)’लाई व्यवहारमा कार्यान्वयन गर्न सरकारले विभिन्न कार्यक्रम अघि बढाएको हो ।

युवा जनशक्तिको ऊर्जा, ज्ञान, सीप र क्षमतालाई स्वदेशमै उपयोग गर्ने वातावरण निर्माण गर्ने नीतिअनुसार युवा, श्रम तथा रोजगार मन्त्रालयले असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको इटहरीमा सात दिने ‘सीप तथा रोजगार मेला’ आयोजना गर्ने भएको छ ।

सरकारले यस अभियानलाई क्रमशः देशभर विस्तार गर्ने उद्देश्यले ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ जारी गरिसकेको छ । निर्देशिकाअनुसार मेलालाई व्यवस्थित र प्रभावकारी बनाउन श्रममन्त्रीको संयोजकत्वमा निर्देशन तथा समन्वय समिति गठन गरिएको छ ।

प्रदेश सरकार, स्थानीय तह तथा जिल्ला प्रशासनसँगको सहकार्यमा मेलाको व्यवस्थापन अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

मेलामा निजी क्षेत्र, उद्योग तथा प्रतिष्ठान, तालिम प्रदायक संस्था, विकास साझेदार, सामाजिक सुरक्षा कोषलगायतका संस्थाका स्टल रहनेछन् । मेलामार्फत रोजगारदाताको वास्तविक जनशक्ति माग पहिचान गरी रोजगारी खोजिरहेका युवालाई उनीहरूको योग्यता, सीप र रुचिअनुसार उपयुक्त रोजगारीसँग जोड्ने लक्ष्य राखिएको छ ।

त्यस्तै, मेलामा सीप परीक्षण, आवश्यकताअनुसार तालिम, करियर परामर्श तथा उद्यमशीलतासम्बन्धी सेवासमेत उपलब्ध गराइनेछ ।

सरकारले ‘रोजगार प्रवर्द्धन दशक’मार्फत स्वदेशमै रोजगारीका अवसर सिर्जना तथा विस्तार गर्ने र युवाको सीप तथा श्रमलाई देशभित्रै उपयोग गर्ने नीतिलाई प्राथमिकतामा राखेको छ ।इटहरीबाट सुरु हुने सीप तथा रोजगार मेलालाई क्रमशः अन्य प्रदेश तथा स्थानीय तहमा विस्तार गर्ने सरकारको तयारी छ ।