कपिलवस्तु। बाणगङ्गा नगरपालिका–४, गजेहडास्थित तौलिहवा सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
गजेहडाबाट सिउटीतर्फ जाँदै गरेको लु प्र ०१–०१२ प १२६५ नम्बरको स्कुटर सोही दिशातर्फ जाँदै गरेको लु३त ७३८३ नम्बरको ट्रयाक्टर र विपरीत दिशाबाट आउँदै गरेको लु प्र०१–००९ प २४०२ नम्बरको स्कुटरसँग ठोक्किएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन ढकालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक रुपन्देहीको कञ्चन गाउँपालिका–५ भैसाहीका २७ वर्षीय रुद्रनारायण थारूको मृत्यु भएको हो ।
दुर्घटनामा ट्रयाक्टर चालक बाणगङ्गा नगरपालिका–११ मैरीका ३५ वर्षीय बमबहादुर चौधरी र अर्को स्कुटरका चालक बाणगङ्गा नगरपालिका–८ बोडगाउँका ३५ वर्षीया रेखा घिमिरे घाइते भएका छन् ।
घिमिरेको युनाइटेड अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रासस









