१ आश्विन २०८३, बिहीबार
,
Latest
एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित हिमालय एअरलाइन्सका कर्मचारीद्वारा विपद् उद्धार कोषमा १३ लाख २० हजार सहयोग चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा तत्काल सहुलियत



अ+ अ-

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ।

बाढीका कारण घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकलाई विद्युत् महसुल र मिटरसम्बन्धी सेवामा सहुलियत उपलब्ध गराउने निर्णय गरिएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विपद्का बेला प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहतको अनुभूति दिलाउने उद्देश्यले विद्युत् सेवामा सहुलियत दिन लागिएको बताउनुभयो। उहाँले ‘छिमेकीलाई हाम्रो साथ’ भन्ने भावनाअनुसार अन्य ग्राहकबाट संकलन भएको शुल्कबाट समेत प्रभावित परिवारको राहतमा सहयोग पुग्ने गरी आवश्यक निर्णय अघि बढाइएको जानकारी दिनुभयो।

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट क्षति पुगेका ग्राहकका लागि भदौ महिनादेखिको न्यूनतम विद्युत् बिलिङ नगर्ने निर्णय गरेको छ। यस्तै, क्षतिग्रस्त घर, व्यवसाय तथा उद्योगलगायतका ग्राहकको विद्युत् मिटरको लगत कट्टा गरिने भएको छ।

मिटरको लगत कट्टा गरिएका प्रभावित ग्राहकले पुनः विद्युत् सेवा लिन नयाँ मिटर माग गरेमा प्राधिकरणले निःशुल्क मिटर उपलब्ध गराउने निर्णयसमेत गरेको छ।

यसैगरी, बाढी प्रभावित क्षेत्रका ग्राहकलाई विद्युत् महसुलमा थप सहुलियत वा छुट दिने विषयमा अध्ययन गर्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिइएको छ। बाढीबाट प्रभावित १५ पालिकामा अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालनको क्रममा रहेकाले प्रभावित ग्राहकलाई महसुलमा कति सहुलियत वा छुट दिन सकिन्छ भन्नेबारे अध्ययन गरी प्रस्ताव पेश गर्न भनिएको हो।

प्राधिकरणले उक्त अध्ययनका आधारमा यसै साता विद्युत् महसुलमा दिइने थप सहुलियत तथा छुटको टुंगो लगाउने तयारी गरेको छ।

बाढीका कारण विद्युत् पूर्वाधारसँगै घर, उद्योग, व्यवसाय तथा अन्य संरचनामा क्षति पुगेका नागरिकलाई विद्युत् सेवासँग सम्बन्धित तत्कालीन आर्थिक भारबाट समेत राहत दिलाउने उद्देश्यले सहजीकरण अघि बढाइएको प्राधिकरणले जनाएको छ।