३० भाद्र २०८३, मंगलवार
,
Latest
मकवानपुरमा इभी दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते देउवाको अपिल : ‘अवैधानिक महाधिवेशन’मा नजानुस्, मंसिरमै १५औँ महाधिवेशन गरौँ बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु काङ्ग्रेसको प्रतिनिधि छनोटमा आदिवासी जनजातिलाई उच्च प्राथमिकता, नयाँ कोटा थप ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि गत आवमा सात खर्ब २० अर्बको घरजग्गाको कारोबार सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने, सम्बन्धित सबै निकायलाइ… नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो गण्डकीलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउन संघ सरकारको सहयोग रहने कृष्णभीरमा १० दिनमै नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रामक पशुरोग नियन्त्रण विधेयक संशोधनसहित सर्वसम्मतिले पारित



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले ‘संक्रामक पशुरोग नियन्त्रणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८३’ संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ ।

समितिको मंगलबार बसेको बैठकमा विधेयकको प्रतिवेदनमाथि छलफल भएपछि सभापति कृष्णबहादुर रोकायले संशोधनसहित विधेयक पारित गर्न प्रस्ताव गर्नुभएको थियो । सभापति रोकायको प्रस्तावपछि समितिले प्रतिवेदन परिमार्जनसहित विधेयक सर्वसम्मतिले पारित गरेको घोषणा गरेको हो ।

सभापति रोकायले संक्रामक पशुरोग नियन्त्रणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८३ समितिको प्रतिवेदनमा उल्लिखित परिमार्जनसहित सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो ।

विधेयकमा संक्रामक पशुरोगको पहिचान, रोकथाम तथा नियन्त्रणसँगै सम्भावित संक्रमणबाट पशुधनलाई सुरक्षित राख्न आवश्यक कानुनी व्यवस्था गर्ने विषय समेटिएको छ । समितिमा छलफलका क्रममा सांसदहरूले विधेयकका विभिन्न प्रावधानमा सुझाव र धारणा राखेका थिए । प्राप्त सुझावका आधारमा प्रतिवेदन परिमार्जन गरी विधेयक पारित गरिएको हो ।

यसअघि छलफलका क्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालयले संक्रामक पशुरोगबाट प्रभावित किसान तथा पशुपालकलाई क्षतिपूर्ति, राहत र पुनस्र्थापनाका लागि कोषको व्यवस्था गर्न सुझाव दिएको थियो । मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले क्षतिपूर्ति, राहत तथा पुनस्र्थापनासम्बन्धी व्यवस्थालाई कानुनी रूपमा स्पष्ट गर्नुपर्ने बताउनुभयो ।

सचिव मिश्रले कानुनमा अत्यधिक बाध्यात्मक व्यवस्था राख्नुभन्दा कार्यान्वयन गर्न सकिने र व्यवहारिक प्रावधान राख्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयका तर्फबाट समितिसमक्ष प्रस्तुत हुने व्यवस्थामा ‘गर्नेछ’ भन्दा ‘सक्नेछ’ भन्ने शब्दावली राख्नु उपयुक्त हुने उहाँको भनाइ थियो ।

उहाँले कोषको नाम ‘क्षतिपूर्ति, राहत तथा पुनस्र्थापनासम्बन्धी व्यवस्था’ राखेर अघि बढ्न उपयुक्त हुने बताउनुभयो । पुनस्र्थापनासँगै ‘पुनर्लाभ’ शब्द थप्ने विषयमा समेत छलफल भए पनि राज्यले पुनस्र्थापनाका क्रममा पुनर्लाभका कार्यक्रम सञ्चालन गरिरहेकाले थप शब्दावली आवश्यक नहुने उहाँले स्पष्ट पार्नुभयो ।

समितिको छलफलमा नेपाली कम्युनिष्ट पार्टीका सांसद झक्कुप्रसाद सुवेदीले महामारीजन्य र संक्रामक रोगलाई स्पष्ट रूपमा छुट्याएर कानुनी व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । उहाँले महामारीजन्य रोग र संक्रामक रोग फरक विषय भएकाले विधेयकमा दुवैको परिभाषा तथा कानुनी व्यवस्था स्पष्ट हुनुपर्ने बताउनुभयो ।

सांसद सुवेदीले कोभिड–१९ जस्तो व्यापक रूपमा फैलिने महामारी तथा प्राकृतिक विपद्पछि उत्पन्न हुन सक्ने महामारीलाई सम्बोधन गर्ने गरी कानुनी व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो । महामारीजन्य रोगको परिभाषा अघिल्लो मस्यौदाभन्दा सुधारिएको भए पनि अझै स्पष्ट र व्यावहारिक बनाउनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले स्थानीय तहमा रोग नियन्त्रणका क्रममा प्रमुख वा अध्यक्षले कर्मचारीलाई प्रत्यक्ष आदेश दिनुभन्दा प्रमुख प्रशासकीय अधिकृतमार्फत कार्यान्वयन हुने व्यवस्था स्पष्ट गर्नुपर्ने सुझाव दिनुभयो । स्थानीय तहका प्रमुख वा अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई रोग नियन्त्रण अधिकारीका रूपमा खटाउन सक्ने व्यवस्था राख्दा कानुनी तथा प्रशासनिक दृष्टिले स्पष्ट हुने उहाँले बताउनुभयो ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका सांसद सुरेशकुमार आले मगरले मूल विधेयकमा रहेको ‘पशुमा लाग्ने संक्रामक रोग र महामारीजन्य संक्रामक पशुरोग’ भन्ने व्यवस्थाबाट ‘महामारीजन्य संक्रामक पशुरोग’ हटाएर ‘संक्रामक पशुरोग’ मात्र राखिनुको कारण स्पष्ट गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले संशोधित व्यवस्थामा ‘संक्रामक पशुरोग’ शब्दले नै महामारीजन्य संक्रामक पशुरोगलाई समेट्ने हो वा महामारीजन्य रोगसम्बन्धी व्यवस्था हटाइएको हो भन्ने विषय स्पष्ट हुनुपर्ने बताउनुभयो ।

सांसद आले मगरले विधेयकको प्रस्तावनामा उल्लेखित उद्देश्यलाई समेत स्पष्ट बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले संक्रामक रोगको पहिचान, प्रतिकार्य, रोकथाम, नियन्त्रण, निवारण र उन्मूलन गर्ने तथा पशु स्वास्थ्य, जनस्वास्थ्य र पशु उत्पादनको सुरक्षा गर्ने विषयलाई छुट्टाछुट्टै उद्देश्यका रूपमा राख्नुपर्ने बताउनुभयो ।

रोगको पहिचानदेखि उन्मूलनसम्मका काम प्रभावकारी रूपमा सम्पन्न गरेपछि मात्र पशु स्वास्थ्य, जनस्वास्थ्य र पशु उत्पादनको सुरक्षा गर्न सकिने भएकाले विधेयकको उद्देश्य स्पष्ट र स्वतन्त्र रूपमा प्रस्तुत गर्नुपर्ने उहाँको भनाइ थियो ।

समितिबाट विधेयक संशोधनसहित पारित भएसँगै संक्रामक पशुरोगको पहिचान, रोकथाम तथा नियन्त्रणका लागि कानुनी आधार थप बलियो हुने अपेक्षा गरिएको छ ।