काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय पाँच वर्षीय लेखराज देउवाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गमा पैदल हिँडिरहेका बालक देउवालाई मिनी ट्रकले ठक्कर दिएपछि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएकामा उपचारका क्रममा निधन भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरासिंह महरले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार, पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से १ क १३५२ नम्बरको ट्रकको ठक्करबाट बालकको टाउको र छातीमा गम्भीर चोट लागेको थियो ।
दुर्घटनापछि ट्रक चालक लम्कीचुहा नगरपालिका–२ का २९ वर्षीय सुनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









