कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित पाँच हजार ५८७ मिटर उचाइको मर्दी हिमाल स्थानीय युवाले सामूहिक रूपमा सफल आरोहण गरेका छन् ।
मर्दी हिमालको सफल आरोहण गर्ने युवालाई घाचोक–माछापुच्छ्रे–पोखरा सम्पर्क समाजले आज सम्मान गरेको हो । स्थानीय युवाबाट मर्दी हिमालको सफल आरोहण हुनु यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण उपलब्धि भएको समाजले जनाएको छ ।
यसले मर्दी हिमालको थप प्रचारप्रसार हुनुका साथै समग्र माछापुच्छ्रे क्षेत्रको पर्यटन विकास र समृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
समाजका अध्यक्ष तोयनाथ बैरागी लम्साल, सल्लाहकार मिनराज लम्साललगायतले आरोहीलाई सम्मान गर्नुभएको थियो ।
माछापुच्छ्रे–१ का नारायण गुरुङ, नवीन गुरुङ, रामबहादुर परियार, किसान थापामगर र अर्जुन विक, वडा नं ३ का क्षेत्रबहादुर गुरुङ र सुदीप तामाङ तथा म्याग्दीका खिम पाइजा र गोरखाका मनुमान गुरुङले गत साउनको अन्तिम साता मर्दी हिमालको सफल आरोहण गर्नुभएको थियो ।
आरोही क्षेत्रबहादुर गुरुङले मर्दी हिमाल आरोहणका क्रममा सुरुआती चरणमा कठिनाइ भए पनि चुचुरोमा पुगेपछि छुट्टै आनन्दको अनुभूति हुने बताउनुभयो । उहाँले मर्दी हिमाललाई हिमाल आरोहणको प्रशिक्षण केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना औँल्याउनुभयो ।
“एभरेष्ट, अन्नपूर्णलगायत सात हजार मिटरभन्दा बढी उचाइका हिमाल चढ्नुअघि मर्दी हिमालमा तालिम गरेर जाँदा आरोहण सहज हुन्छ । मर्दी चढेपछि अर्को हिमाल चढ्न धेरै नै सहज हुने भएकाले यसलाई ट्रेनिङ सेन्टरका रूपमा विकास गर्नसकेमा धेरै पर्यटक भित्र्याउन सकिन्छ”, उहाँले भन्नुभयो ।
घाचोक– माछापुच्छ्रे–पोखरा सम्पर्क समाजका अध्यक्ष तोयनाथ बैरागी लम्सालले स्वस्थ रूपमा सफल आरोहण गरेर फर्कनु आफैँमा महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले मर्दी आरोहणबाट प्राप्त साहस र अनुभवले आरोहीलाई आगामी दिनमा अझ अग्ला हिमाल आरोहण गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
“तपाईंहरूले मर्दी हिमालको सफल आरोहण गरेर धेरै अनुभव हासिल गर्नुभएको छ । यसले आगामी दिनमा अझ राम्रो गर्न प्रेरणा दिनेछ । यसबाट माछापुच्छ्रे क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुगेको छ”, अध्यक्ष लम्सालले भन्नुभयो ।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति विष्णु पोखरेल, समाजका उपाध्यक्ष चन्द्राज्यु ठकुरी, सचिव जगत गुरुङ तथा सदस्य दुर्गाबहादुर गुरुङ लगायतले हिमाल आरोहण चुनौतीपूर्ण कार्य भए पनि माछापुच्छ्रे गाउँपालिकाको काखमा रहेको मर्दी हिमाल स्थानीय युवाले सफलतापूर्वक आरोहण गर्नु गौरवको विषय भएको बताउनुभयो । रासस









