२७ भाद्र २०८३, शनिबार
,
Latest
नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि तयार हुनुपर्छ’–ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला राज्यशक्तिको दुरुपयोग नगर्न सरकारलाई सुझाव दिनुभएको छ ।

बाढी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिन लागेको एमालेको सम्पर्क विशेष संगठन कमिटीको टोलीलाई बिदाइ तथा निर्देशन दिँदै ओलीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सुधारका लागि सुझाव दिनुभएको हो ।

ओलीले राहत तथा उद्धारमा सहयोग गर्न चाहने संगठित संस्था र स्वयंसेवकलाई काम गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो ।

राज्यले सबै हेलिकप्टर आफ्नो नियन्त्रणमा राख्ने तर स्वयंसेवामा खटिएका अन्य संस्थालाई आवश्यक साधन प्रयोग गर्न नदिने व्यवहार उचित नभएको उहाँको भनाइ छ ।

उहाँले विपद् प्रभावित क्षेत्रमा उद्धारमा भइरहेको ढिलाइप्रति पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । ११–१२ दिनपछि मानिसहरू आफैं सुरुङबाट बाहिरिनुपर्ने अवस्था आउनु गम्भीर लापरवाही भएको भन्दै ओलीले उद्धार कार्यलाई प्रभावकारी र शिघ्र बनाउन सरकारलाई सुझाव दिनुभयो ।

विस्थापित परिवारका सदस्यहरूलाई अलग–अलग शिविरमा राखिएको विषयमा पनि ओलीले सरकार संवेदनशील बन्नुपर्ने बताउनु भयो । बुबा एउटा शिविरमा र छोरी अर्को क्याम्पमा राखिएको उदाहरण दिँदै उहाँले परिवारका सदस्यहरूलाई सँगै बस्ने तथा एक–अर्कालाई भेट्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

राहत तथा उद्धारमा खटिएका स्वयंसेवकहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिनुपर्ने भन्दै उहाँले स्वच्छ खाना, सुरक्षित वातावरण र आवश्यक स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्नुभयो । राहत तथा उद्धारको वास्तविक अवस्था सार्वजनिक गर्न खोज्ने नागरिक तथा स्वयंसेवकलाई प्रहरी परिचालन गरेर रोक्ने काम नगर्न ओलीले सरकारलाई सुझाव दिनुभयो । प्रहरीको काम सरकारको कमजोरी लुकाउन मानिसलाई रोक्ने नभई नागरिकको सुरक्षा गर्नु भएको उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘म सेना प्रहरीलाई पनि भन्न चाहन्छु, तपाईंहरु नियम, कानून र कर्तव्यभित्र रहेर, काम गर्नुस् । अनावश्यक, अनुचित आदेश पालना नगर्नुस्, अनावश्यक आदेश पालना गर्न सकिँदैन, जनताका बीचमा तनाव ल्याउने काम गर्नु हुँदैन भनेर तपाईंहरुले पनि जवाफ दिनुपर्छ । म सरकारमा रहेका मानिसहरुलाई पनि भन्न चाहन्छु, यस प्रकारका राज्य शक्तिको दुरुपयोग जसरी भइरहेको छ, जसरी गरिरहनुभएको छ, यो कुरा रोक्नुस् । दुरुपयोग हुन नदिनुस् । हामीले अलिकति केही सुझाव दियो भने को हो तपाईंहरु सुझाव दिने भन्छन् । उनीहरु भन्छन्, हेलिकप्टर पनि अब त हाम्रै हातमा छ, सबै राज्य नै हामीले कब्जा गरेका छौँ । हामीले देखेका छौँ, हामीले जेलनेल पनि देखेका छौँ, अनेक कुरा देखेका छौँ, यत्तिकै पड्केर, चिठ्ठा परेर, आगो लागेर आएका होइनौँ । कुनै आगजनी, तोडफोट, लुटपाटबाट मान्छे कुटेर, मारेर, आगो लगाएर आएका थिएनौँ । उहाँहरु कसरी आउनु भयो, चुनावबाट आएका हौँ भन्नुहोला, त्यसबारे पछि छलफल गरौँला । चुनाव के भएको थियो, कसरी भएको थियो, कसतो वातावरण, परिस्थितिमा । यो दुःखका बेला सबै मिल्नुपर्छ । हामी भनिरहेका छौँ, हामी सरकारलाई साथ दिन, सरकारसँग मिलेर काम गर्न तयार छौँ, तर सरकार संलग्न हुन पनि दिइरहेको छैन, यो बहुतै दुःखद् कुरा हो । तर पनि हामी आफ्नो कर्तव्य पूरा गर्नेछौँ ।’

उहाँले सरकारलाई सहयोग गर्न एमाले तयार रहेको स्पष्ट पार्दै सरकार पनि सहकार्यका लागि तयार हुनुपर्ने बताउनु भयो । जनता पीडामा रहेका बेला एमाले मूकदर्शक भएर बस्न नसक्ने भन्दै ओलीले विपद्को समयमा सरकार र राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल