२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपीडितका लागि यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा ९९ लाख सहयोग



अ+ अ-

काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रु ९९ लाख ८४ हजार ६९५ सहयोग गरेको छ ।

महासङ्घले आज सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो ।

महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलासहितको टोलीले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालमार्फत राहत रकम कोषमा हस्तान्तरण गरेको हो ।

राहत रकम ग्रहण गर्दै मन्त्री लम्सालले विपद्का बेला बाढीपीडितको उद्धार तथा राहतका लागि महासङ्घले गरेको योगदानप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्न विभिन्न क्षेत्रबाट भइरहेको सहकार्यले राहत तथा उद्धार कार्यमा थप सहयोग पुग्ने बताउनुभयो ।

रकम हस्तान्तरणपछि महासङ्घका अध्यक्ष सिटौलाले भोटेकोशी बाढीबाट प्रभावित तथा बेपत्ता भएकाहरूको उद्धार र खोजीकार्यमा महासङ्घ निरन्तर सक्रिय भएर लागिरहेको बताउनुभयो ।

उहाँले यातायात क्षेत्रसँग प्रत्यक्ष जोडिएका मजदुर तथा व्यवसायीसमेत बाढीबाट प्रभावित भएकाले महासङ्घले आफ्ना सदस्य तथा श्रमिकको उद्धारका साथै पीडितपरिवारलाई सहयोग गर्ने कामलाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।

“बाढीपीडितको उद्धार तथा राहतका लागि संस्था निरन्तर सक्रिय छ । हाम्रा दर्जनौँ यातायात मजदुर र सवारीसाधनसमेत अहिलेसम्म बेपत्ता छन् । यातायात मजदुर र बाढीपीडितको उद्धार तथा सहयोगमा हामी अहोरात्र खटिएका छौँ”, अध्यक्ष सिटौलाले भन्नुभयो ।

भोटेकोशी बाढीपछि ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत वितरणको काम जारी रहेका बेला यातायात व्यवसायी महासङ्घले गरेको सहयोगले प्रभावितको राहत तथा पुनःस्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस