काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा गत २६ अगस्टमा आएको विनाशकारी बाढीको १७औँ दिनसम्म आइपुग्दा १ हजार ३ सय ८५ जनाको शव फेला परेको र ५ हजार १ सय ३० जना अझै बेपत्ता रहेको सरकारले औपचारिक जानकारी दिएको छ।
परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले रसुवा, नुवाकोट र धादिङलगायतका तटीय क्षेत्रमा बाढीले अकल्पनीय मानवीय तथा भौतिक क्षति पुर्याएको बताउँदै बेपत्ता हुनेहरूमा ३५ देशका करिब ६ सय विदेशी नागरिकसमेत रहेको जानकारी दिनुभयो।
पत्रकार सम्मेलनमा प्रवक्ता क्षेत्रीले हालसम्म बाढीग्रस्त क्षेत्रहरूबाट ३२० भन्दा बढी विदेशीसहित कुल १३ हजार ६ सय ७६ जनालाई जीवितै उद्धार गरिएको बताउनुभयो। “खोजी तथा उद्धार कार्य अहिले पनि निरन्तर जारी रहेकाले हताहती र बेपत्ताको यो संख्या अझै अद्यावधिक हुन सक्छ,” प्रवक्ता क्षेत्रीले भन्नुभयो, “शवहरूको वैज्ञानिक पहिचानका लागि भारत, चीन, जापान, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक विज्ञहरू नेपाल प्रहरीसँग मिलेर डीएनए संकलन र विश्लेषणमा जुटिरहनुभएको छ। भविष्यमा डीएनए परीक्षणका आधारमा आफन्तलाई बुझाउन सहज होस् भनेर अहिले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवहरूलाई अस्थायी रूपमा समाधिस्थ (गाड्ने) काम भइरहेको छ।”
विपद्ले पारेको आर्थिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै प्रवक्ता क्षेत्रीले सरकारद्वारा तयार पारिएको ‘द्रुत क्षति तथा आवश्यकता मूल्यांकन’ (आरडीएनए) प्रतिवेदन सार्वजनिक गर्नुभयो । प्रतिवेदन उद्धृत गर्दै उहाँले भन्नुभयो, “प्रारम्भिक आकलन अनुसार बाढीबाट १ अर्ब ८० करोड अमेरिकी डलर (करिब २ खर्ब ४१ अर्ब रुपैयाँ) बराबरको प्रत्यक्ष भौतिक पूर्वाधारमा क्षति पुगेको छ भने ८८ करोड ३० लाख डलर (करिब १ खर्ब १८ अर्ब रुपैयाँ) बराबरको आर्थिक नोक्सानी भएको छ। समग्र पुनर्निर्माण र पुनरुत्थानका लागि कुल ४ अर्ब ७८ करोड अमेरिकी डलर (झण्डै ६ खर्ब ४० अर्ब रुपैयाँ) आवश्यक पर्ने देखिएको छ। यसमध्ये आगामी ६ महिनाभित्र गरिने अल्पकालीन पुनर्निर्माणका लागि मात्रै ५ करोड ७६ लाख डलरभन्दा बढी बजेट चाहिन्छ।” उहाँका अनुसार क्षतिको अन्तिम र विस्तृत खाका तय गर्न सरकारले ‘विपद्पछिको आवश्यकता मूल्यांकन’ (पीडीएनए) को प्रक्रियासमेत अघि बढाइसकेको छ।
बाढीले पुरिएका जलविद्युत् आयोजनाका सुरुङ तथा जटिल भग्नावशेषहरूभित्र खोजी गर्न विदेशी प्राविधिक टोलीहरू सक्रिय रहेको प्रवक्ता क्षेत्रीले बताउनुभयो। “सुरुङभित्रको जटिल उद्धारका लागि नेपाली सेनासँगै भारत, चीन र दक्षिण कोरियाका विशेष सुरुङ उद्धार टोलीहरू अहोरात्र खटिरहनुभएको छ,” उहाँले भन्नुभयो, “यसका अतिरिक्त संयुक्त अरब इमिरेट्स (यूएई), मलेसियाको ‘स्मार्ट’ र अस्ट्रेलियाको ‘डार्ट’ टोलीले समेत स्थलगत खोजीमा महत्त्वपूर्ण सहयोग पुर्याइरहेका छन्।” उहाँले बाढी प्रभावित सीमावर्ती क्षेत्रबाट चिनियाँ अधिकारीहरूको सहजीकरणमा तातोपानी नाका हुँदै हालसम्म ७६८ जना नेपाली नागरिकलाई सकुशल स्वदेश फिर्ता गराइसकिएको जानकारीसमेत दिनुभयो।
विपद् व्यवस्थापनमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता र प्राविधिक सहायता जुटाउन उच्च तहबाटै कूटनीतिक संवाद भइरहेको जानकारी दिँदै प्रवक्ता क्षेत्रीले भन्नुभयो, “सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले आज बिहान मात्रै न्यूजिल्यान्डका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरी सहयोग र सहकार्यबारे छलफल गर्नुभएको छ। प्रधानमन्त्रीज्यू र माननीय परराष्ट्रमन्त्री शिशिर खनालज्यू मित्रराष्ट्रहरू र अन्तर्राष्ट्रिय साझेदारहरूसँग निरन्तर संवादमा हुनुहुन्छ।” घटनास्थलको भौगोलिक जटिलतालाई ध्यानमा राख्दै नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसमक्ष उच्च क्षमतायुक्त ड्रोन, जमिनमुनि हेर्न सकिने ‘लिडार’ प्रणाली, पानीमुनि खोजी गर्ने अन्डरवाटर ड्रोन, बेली ब्रिज, महामारी नियन्त्रण सामग्री, डीएनए परीक्षण किट र उच्च क्षमताका पम्पहरू उपलब्ध गराइदिन औपचारिक आग्रह गरिसकेको उहाँले बताउनुभयो।
भौतिक पूर्वाधार पुनर्बहालीतर्फ गल्छी–त्रिशूली सडक खण्डको देवीघाटस्थित तादी नदीमा ‘एक्रो ब्रिज’ जडान सम्पन्न भई यातायात सञ्चालनमा आइसकेको जानकारी दिँदै प्रवक्ता क्षेत्रीले बाढी प्रभावित क्षेत्रमा सञ्चार, विद्युत् र सडक सञ्जाल पूर्ण रूपमा सुचारु गर्न युद्धस्तरमा काम भइरहेको र मन्त्रालयको आपत्कालीन नियन्त्रण कक्ष (ईसीआर) २४ सै घण्टा सक्रिय रहेको स्पष्ट पार्नुभयो।









