काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढी प्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा तथा तत्काल अस्थायी पुनस्र्थापनाको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद केसीले होल्डिङ सेन्टरमा रहेका महिला, वृद्धवृद्धा तथा बालबालिकाहरू असुरक्षित र स्वास्थ्य जोखिममा रहेको भन्दै उनीहरूको संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले बाढीबाट प्रभावित नागरिकहरू अत्यन्त कठिन परिस्थितिमा रहेको भन्दै उनीहरूलाई यथाशीघ्र सुरक्षित स्थानमा अस्थायी पुनस्र्थापना गर्न सरकारसँग जोडदार माग गर्नुभयो ।
सांसद केसीले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा आवतजावत पूर्णरूपमा विच्छेद भएकाले तत्काल वैकल्पिक यातायातको व्यवस्था गर्न पनि आग्रह गर्नुभयो । बेत्रावतीदेखि गल्छीसम्म सञ्चालनमा रहेका दुईवटा तुइनले मात्रै आवतजावतको समस्या समाधान गर्न नसक्ने भन्दै उहाँले कम्तीमा पाँचवटा बेलीब्रिज यथाशीघ्र निर्माण गर्न सरकारसँग माग गर्नुभयो ।
उहाँले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारको कार्यलाई थप प्रभावकारी बनाउन र पीडित नागरिकलाई आवश्यक राहत तथा सुरक्षा सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।









