२६ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपछि स्वास्थ्य क्षेत्रको आवश्यकता र पुनःस्थापनाबारे विस्तृत मूल्याङ्कन गरिँदै अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन बाढी प्रभावितका लागि ‘भिल’ले गर्‍यो १ करोड रुपैयाँ सहयोग ३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही… बैंक सञ्चालक, पदाधिकारी र कर्मचारीमाथिको सजायसम्बन्धी व्यवस्था संशोधन गर्न अर्थ समितिको निर्देशन अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा–भोटेकोशी बाढीको सहयोग विवरण सार्वजनिक गर्न अर्थ मन्त्रालयले ल्यायो पोर्टल



अ+ अ-

काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि प्राप्त सहयोग, वैदेशिक सहायता, उद्धार तथा राहतसम्बन्धी आधिकारिक विवरण पारदर्शी रूपमा सार्वजनिक गर्न अर्थ मन्त्रालयले ‘रसुवा–भोटेकोशी बाढी अपडेट’ पोर्टल सञ्चालनमा ल्याएको छ।

नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध पोर्टलमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त सहयोग, उद्धार तथा राहतका विवरण र नेपाल सरकारबाट भएका निर्णयहरू एकै ठाउँबाट सार्वजनिक गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार भदौ २४ गतेसम्म अर्थमन्त्रीलाई चेक तथा बैंक ट्रान्सफरमार्फत ३८९ वटा सहयोग प्राप्त भएका छन्। ती सहयोगबाट मात्रै रु. २ अर्ब १५ करोड २५ लाख ४२ हजार ३०९ प्राप्त भएको छ।

यससँगै एनसीएचएल र फोनपेबाट अनलाइन प्राप्त रकम तथा कोषको अमेरिकी डलर खातामा प्राप्त वैदेशिक सहयोगसमेत जोड्दा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म कुल रु. १२ अर्ब ३१ करोड ५९ लाख ४२ हजार ३५ सहयोग प्राप्त भएको मन्त्रालयले जनाएको छ।

भदौ २४ गते बिहान ९ बजेसम्मको कोषको स्थितिअनुसार कुल रु. ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ मौज्दात रहेको छ। विभिन्न स्रोतबाट प्राप्त तथ्यांक फरक–फरक मिति तथा समयका भएकाले एकीकृत रकमको हिसाब मिलान अर्थ मन्त्रालयको कोष शाखाबाट हुन बाँकी रहेको मन्त्रालयले स्पष्ट पारेको छ।

पोर्टलमा एनसीएचएल र फोनपेमार्फत प्राप्त अनलाइन सहयोग, अर्थमन्त्रीलाई चेक तथा बैंक ट्रान्सफरमार्फत हस्तान्तरण गरिएको सहयोगको नामसहितको विवरण, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको बैंकगत खाता स्थिति तथा अमेरिकी डलर खातामा प्राप्त वैदेशिक सहयोगको विवरण राखिएको छ।

त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले प्रकाशित गरेका उद्धार तथा राहतसम्बन्धी विवरण, मन्त्रिपरिषद्का निर्णय, राहत व्यवस्था तथा राहत संकलन एकद्वार प्रणालीका सम्पर्क व्यक्तिको विवरणसमेत पोर्टलमा अद्यावधिक गरिएको छ।

मन्त्रालयले पोर्टलमा सार्वजनिक गरिएका प्रत्येक तथ्यांक सम्बन्धित निकायका आधिकारिक कागजातसँग भिडाएपछि मात्रै प्रकाशन गरिएको जनाएको छ। नयाँ आधिकारिक विवरण प्राप्त हुनासाथ पोर्टल अद्यावधिक गरिने पनि मन्त्रालयले जनाएको छ।

सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई सहयोग रकम आधिकारिक भुक्तानी पोर्टलमार्फत मात्र पठाउन मन्त्रालयले आग्रह गरेको छ। नगद वा जिन्सी सहयोगका लागि अर्थ मन्त्रालयको राहत संकलन एकद्वार प्रणालीका सम्पर्क व्यक्तिसँग समन्वय गर्न अनुरोध गरिएको छ।