२६ भाद्र २०८३, शुक्रबार
,
Latest
सांसद कार्कीको प्रश्न– संविधानमा लेखिएको मौलिक हक र नागरिकले पाउने व्यवहारिक सेवामा यति दुरी किन… बाढीपीडितलाई रकम दिएर मात्रै सरकार पन्छिन मिल्दैन : दीपक साह बाढी प्रभावितलाई प्रभावकारी स्वास्थ्य सेवा दिन शिक्षा समितिको निर्देशन प्रतिनिधिसभा: इ–जीपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन सांसद दुलालको माग जेनजी आन्दोलनको एक वर्षः स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षा चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा माछा मार्ने क्रममा चौधरीको मृत्यु असोज १५ गतेसम्मको सम्भावित कार्यतालिका स्वीकृत गर्न कार्यव्यवस्था परामर्श समितिको परामर्श रसुवा बाढीबाट डेढ लाख नागरिक प्रत्यक्ष रुपमा प्रभावितः होल्डिङ सेन्टरमा रहेका २५ जनालाई झाडापाखाला काठे पुलकै भरमा बेँसीसहर–चामे सडक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकलाई ‘ग्रे लिस्ट’बाट निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको छः अर्थमन्त्री वाग्ले



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ)को जोखिमपूर्ण मुलुकको सूची ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको बताउनुभएको छ ।

शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले नेपाललाई चाँडोभन्दा चाँडो ग्रे लिस्टबाट बाहिर निकाल्न अन्तर्राष्ट्रिय समुदायमा समेत पहल भइरहेको बताउनुभयो ।

उहाँले नेपालको पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न राष्ट्र बैंकका डेपुटी गभर्नर, महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्तासहित ५–६ जनाको विशेष टोली परिचालन गरिएको जानकारी दिनुभयो । उक्त टोली हाल मलेसियामा रहेर नेपालको पक्षमा काम गरिरहेको उहाँले बताउनुभयो ।

अर्थमन्त्री वाग्लेले एफएटीएफकै विषयमा अमेरिकी अर्थमन्त्रीसँग आफूले भेट गर्ने प्रयास गरिरहेको समेत बताउनुभयो । नेपाल समयमै ग्रे लिस्टबाट बाहिरिन नसके त्यसको प्रत्यक्ष असर मुलुकको अन्तर्राष्ट्रिय वित्तीय विश्वसनीयता, करेस्पोन्डेन्ट बैंकिङ, लगानीको वातावरण र पुँजी प्रवाहमा पर्ने उहाँको भनाइ छ ।

उहाँले ग्रे लिस्टबाट बाहिरिन सरकारले गरिरहेको प्रयासबारे विभिन्न अफवाह फैलाउने काम भइरहेको भन्दै त्यसप्रति जिम्मेवार भएर प्रस्तुत हुन सञ्चार क्षेत्रलाई आग्रह गर्नुभयो । वर्षौंदेखि टारिँदै आएका आवश्यक सुधारलाई सरकारले ‘बोल्ड’ रूपमा अघि बढाइरहेको भन्दै त्यस क्रममा आफूहरूले विभिन्न आलोचना र प्रहारसमेत सामना गरिरहेको उहाँले बताउनुभयो ।

अर्थमन्त्री वाग्लेले प्राकृतिक विपद्बाट भएको क्षति र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा पनि सरकार केन्द्रित रहेको बताउनुभयो । पुनर्निर्माणलाई पुरानै संरचना पुनःनिर्माण गर्ने अवसरका रूपमा मात्र नभई जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्ने सरकारको नीति रहेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “एफएटीएफको ग्रे लिस्टबाट नेपाललाई निकाल्न हाम्रो भगीरथ प्रयास चलिरहेको छ । अहिले म यहाँ बोल्दाबोल्दै मलेसियामा हाम्रो टोलीले काम गरिरहेको छ । नेपालको पक्षलाई जबर्जस्त ढङ्गले प्रस्तुत गर्नुपर्छ भनेर हामी लागिरहेका छौँ ।”

अर्थमन्त्री वाग्लेले मुलुकको आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रलाई सँगै लिएर अघि बढ्न चाहेको बताउनुभयो । लगानीमैत्री वातावरण निर्माण गर्न आफू अर्थमन्त्री भएकै दिनदेखि नीतिगत सुधारको काममा लागेको उहाँको भनाइ छ ।