अल्जेरिया। अल्जेरियाले बिहीबार संयुक्त अरब एमिरेट्स (युएई) सँग कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ । वर्षौँदेखि चल्दै आएको तनावपछि अल्जियर्सले अबु धाबीलाई राष्ट्रिय तथा क्षेत्रीय मामिलामा हस्तक्षेप गरेको आरोप लगाएको छ ।
“द्विपक्षीय सम्बन्ध जोगाउन सबै उपायहरू समाप्त भएपछि अल्जेरियाले संयुक्त अरब एमिरेट्ससँग कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको छ,” अल्जेरियाको राष्ट्रिय टेलिभिजनले घोषणा गरेको छ ।
अल्जेरियाले युएईलाई ‘उत्तेजक र शत्रुतापूर्ण कार्य’ गरेको आरोप लगाएको छ, तर विदेश मन्त्रालयको विज्ञप्तिमा विस्तृत विवरण दिइएको छैन।
“उसले युएई पक्षको ध्यान आकर्षित गर्ने र अल्ेरियाली सरकारले लिएको पछिल्लो कदमको खेदजनक तथा अनुचित व्यवहारबाट हुन सक्ने गम्भीर परिणामबारे चेतावनी पनि दिएको छ,” मन्त्रालयले जनाएको छ ।
युएईका अधिकारीहरूबाट यसबारे तत्काल कुनै प्रतिक्रिया आएको छैन ।
अल्जेरियाली राष्ट्रपति अब्देलमजिद तेब्बौने प्रायः सम्बोधनमा युएईलाई ‘सूक्ष्म राज्य’ वा ‘साना राज्य’ भनेर उल्लेख गर्दै आउनुभएको छ। उहाँले यसलाई क्षेत्रका लिबिया, माली र सुडानसहित धेरै देशहरू अस्थिर बनाउन खोजेको आरोप लगाउँदै आउनुभएको छ ।
उहाँले केही समय पहिले भन्नुभएको थियो, “दोहोरो व्यवहार अब स्वीकार्य छैन ।”
“जहाँ–जहाँ उनीहरूले खुट्टा राख्छन्, त्यहाँ रगत बग्छ,” तेब्बौने जुलाईमा एक टेलिभिजन अन्तर्वार्तामा भन्नुभएको थियो । उहाँले एमिरेट्सको ‘धेरै नकारात्मक प्रभाव’ रहेको पनि बताउनुभएको थियो ।
“हामी चाहन्छौँ कि उनीहरू टाढा रहून्, ताकि हाम्रो देशमा रगत नबगोस्,” उहाँले थप्नुभएको थियो ।
त्यसबेला तेब्बौनेले भन्नुभएको थियो , “अल्जेरियाले अरब संसारमा ‘विभाजन गहिरो नहोस् भनेर प्रयास नगरेको भए कूटनीतिक सम्बन्ध विच्छेद ‘धेरै अघि नै हुने थियो’।
बिहीबार अल्जियर्सले एमिरेट्सका राजदूतलाई यो निर्णय पालना गर्न ४८ घण्टाको समय दिएको छ ।
विदेश मन्त्रालयले भनेको छ, “अल्जेरियाले अबु धाबीलाई धेरै पटक चेतावनी दिएको थियो, तर एमिरेट्स ‘आफ्नो कार्यमा अडिग रह्यो, जसले गर्दा ती कार्यहरू अब स्वीकार्य वा सहनयोग्य मान्न सकिने अवस्था रहेन’।”
दुई देशबीचको तनाव पछिल्ला वर्षहरूमा धेरै घटनाहरूले बढाएको छ।
गत वर्ष अल्जेरियाली राष्ट्रिय टेलिभिजनले एमिरेट्सस्थित प्रसारक स्काई न्यूज अरबियाले इतिहासकार मोहम्मद अमिन बेल्घितसँग गरेको अन्तर्वार्तापछि शत्रुतापूर्ण मिडिया अभियान चलाइएको आरोप लगाएको थियो। बेल्घितले अल्जेरियाको आदिवासी अमाजिघ संस्कृति अस्तित्वमा छ कि छैन भन्ने विवादास्पद टिप्पणी गनर््भएको थियो ।
बेल्घित अल्जेरियामा जेल पर्नुभएको थियो तर पछि तेब्बौनेद्वारा जेल सजाय माफी पाउनुभएको थियो ।
अल्जियर्स र अबु धाबीबीच थप मतभेद उसको इजरायलसँगको कूटनीतिक नीतिमा आएको फरक दृष्टिकोणबाट पनि आएको हो, जसमा सन् २०२० मा एमिरेट्सले इजरायलसँग सम्बन्ध सामान्यीकरण गरेको घटना पनि समावेश छ । (रासस/एएफपी)









