टर्की। टर्कीको दक्षिणी पर्यटकीय प्रान्त अन्टाल्यामा भीषण डढेलो फैलिँदा धुवाँले निसास्सिएर एक जनाको मृत्यु भएको छ । तीव्र हावाका कारण आगो बस्तीतर्फ सोझिएपछि अधिकारीहरूले कम्तीमा २५० घर खाली गराएका छन् ।
स्थानीय अधिकारीहरूका अनुसार अक्सु जिल्लाका एक बासिन्दाको डढेलोको बाक्लो धुवाँका कारण हृदयाघात भएर ज्यान गएको हो । अक्सुका मेयर इसा यिल्दिरिमले ती व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् ।
सोमबार साँझ अक्सुको वनक्षेत्रबाट सल्किएको डढेलो हुरीबतासका कारण छिमेकी केपेज जिल्लासम्म फैलिएको थियो । आगो नियन्त्रणबाहिर जान थालेपछि प्रशासनले दुवै जिल्लाका जोखिमयुक्त बस्तीबाट नागरिकलाई सुरक्षित स्थानमा सारेको छ ।
डढेलो नियन्त्रणमा लिन मंगलबार बिहानैदेखि ठूलो संख्यामा हवाई र स्थलगत टोली परिचालन गरिएको छ । आगो निभाउन ५ वटा विशेष विमान, १० भन्दा बढी हेलिकप्टर, ११० दमकलसहित ६ सयभन्दा बढी अग्निनियन्त्रक खटिएका छन् ।
आगो मानवबस्तीमा पस्न नदिन सुरक्षाकर्मीसँगै स्थानीय बासिन्दा पनि रातभर खटिएको स्थानीय टेलिभिजन ‘एनटिभी’ले जनाएको छ । जोखिम बढेपछि अन्टाल्यालाई छिमेकी प्रान्त इस्पार्टासँग जोड्ने मुख्य राजमार्गसमेत अस्थायी रूपमा बन्द गरिएको छ।
सरकारी समाचार संस्था अनादोलुका अनुसार आगलागीका कारण प्रभावित क्षेत्रका २ हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति पूर्ण रूपमा ठप्प भएको छ।
अन्टाल्या सहर विश्व जलवायु सम्मेलनको तयारीमा जुटिरहेको छ । विश्वभरका राष्ट्रप्रमुख र जलवायु विज्ञहरू भेला भएर पृथ्वीको बढ्दो तापक्रमबारे मन्थन गर्ने ३१ औँ संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) आगामी नोभेम्बरमा यही सहरमा आयोजना हुँदैछ । फैलिरहेको डढेलोले कोप–३१ का कार्यक्रममा अशर पर्न सक्ने देखिन्छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल









