काठमाडौँ। अन्नपूर्ण स्पाइकर किङ्सले नेपाल भलिबल लिग (एनभिएल) का लगातार तेस्रो जित निकाल्दै सीधै फाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ ।
केडिया ग्रुपको आयोजनामा भइरहेको एनभिएलको लिगचरणमा शिर्ष टोली सीधै फाइनलमा पुग्नेछ । चार खेलबाट लगातार तीन जित निकाल्दै अन्नपूर्ण स्पाइकरले सीधै फाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बुधवार भएको खेलमा अन्नपूर्ण स्पाइकले खप्तड फाल्कोन्सलाई ३–० को सोझो सेटमा हरायो ।
धीरजकाजी बस्नेतको कप्तानीमा रहेको खप्तड फाल्कोन्स भने लगातार चौथो हारसँगै लिगचरणबाटै बाहिरिने भएको छ । चौथो खेलमा पनि उसका चार विदेशी खेलाडीले राम्रो गर्न सकेनन् । जित मात्र नभइ खप्तड फाल्कोन्सले एक सेटमा पनि जित्न सकेको छैन । यता अन्नपूर्ण स्पाइकरले भने विदेशी खेलाडीबाट राम्रो साथ पाइरहेको छ ।
पछिल्ला तीन जितमा विदेशी खेलाडी नै म्यान अफ दी म्याच भए । पहिलो दुई खेलमा मंगोलियाका उरनबायर जितका नायक थिए ।
फाल्कोन्ससँग पनि मंगोलियाका अपोजिट हिटर इन्ख इर्डेने म्यान अफ दी म्याच भए । उनको उत्कृष्ट प्रदर्शनमा अन्नपूर्ण स्पाइकरले पहिलो दुई सेट सहजै जित निकाल्यो ।
पहिलो सेट २५–१५ ले आफ्नो बनाउँदै अन्नपूर्ण स्पाइकरले दबाब बनायो । दोस्रो सेट पनि अन्नपूर्ण स्पाइकरले २५–१५ ले आफ्नो पक्षमा पार्यो । यससँगै हिमाल सुनारी मार्की रहेको अन्नपूर्ण स्पाइकर सहज जिततर्फ अग्रसर भयो । तर तेस्रो सेट भने निकै रोमाञ्चक र प्रतिष्पर्धात्मक भयो । खप्तड फाल्कोन्सले लगातार दुई पटक सेट पोइन्टको अवसर गुमाउन पुग्यो ।
२४–२३ र २६–२५ को अवस्था सदुपयो गर्न नसक्दा खप्तड एक सेट पनि जित्न असफल भएको हो । अन्ततः यो सेट पनि खप्तडले २९–२७ ले गुमाउन पुग्यो । समान चार खेलबाट अन्नपूर्ण स्पाइकरको ९ अंक छ भने पुछारको खप्तडले खाता खोल्न सकेको छैन ।
कर्णाली शिवराजसँगको हारबाट लिगको सुरुआत गरेको अन्नपूर्ण स्पाइकरले त्यसपछि लगातार जित निकाल्दै बलियो दाबेदारी दिएको छ । बुधवार नै दोस्रो खेलमा अपराजित एक मात्र टोली शिवराज र काठमाडौं रेड्सबीच हुनेछ । यो खेलमा जित निकाल्दा शिवराज सीधै फाइनलमा पुग्नेछ । शि
वराजले तीन जित निकाल्दा काठमाडौंले दुई खेलमा एक जित र हार सामना गरेको छ । केडिया ग्रुपद्वारा आयोजित एनभिएलको पहिलो सिजनमा कुल ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको विजेताले २० लाख प्राप्त गर्नेछ ।
सिंगल राउन्ड रोबिनका आधारमा जारी प्रतियोगिताको लिग चरणमा शिर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनलका लागि प्लेअफ खेल्नेछन् । –न्युज एजेन्सी नेपाल









