काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूलाई जलवायु अन्यायका पीडितका रूपमा चित्रण गर्दै उनीहरूका लागि न्यायको पहल गर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले जलवायु परिवर्तनमा योगदान नगरेका मानिसहरूले त्यसको गम्भीर परिणाम भोग्नुपरेको बताए । भोटेकोसी बाढीमा ज्यान गुमाउनेहरू आफ्नै कारणले नभई जलवायुजन्य विपत्तिको मारमा परेको उनको भनाइ थियो ।
उनले भने, ‘भोटेकोसी बाढीमा ज्यान गुमाउनेहरू जलवायु अन्यायका पीडित हुन् ।’
लामिछानेले भोटेकोसी बाढीमा भएको मानवीय क्षतिलाई जलवायु न्यायको विषयसँग जोडेर अन्तर्राष्ट्रिय तहमा समेत आवाज उठाउनुपर्नेमा जोड दिए । मृतकहरूको बलिदानलाई जलवायु न्याय प्राप्तिको आधार बनाउनुपर्ने उनको भनाइ थियो ।
‘हामीले संकल्प गर्नैपर्छ, यो सहादतलाई जलवायु न्यायको औजार बनाएर जलवायु न्यायको ढोका ढकढकाउनेछौं,’ उनले भने ।








