काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले जेन–जी आन्दोलनलाई ‘क्रान्ति’ मान्न नसकिने टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बाँस्कोटाले उक्त घटनालाई नागरिक असन्तुष्टि र पटक–पटक दोहोरिने अर्थहीन सत्ता समीकरणप्रतिको वितृष्णाका रूपमा व्याख्या गरेका हुन्।
उनले नेपालमा तीनथरी शक्ति केन्द्रबाट सिर्जित भूराजनीतिक प्रभावसमेत उक्त परिस्थितिको कारक रहेको संकेत गरेका छन्।
बाँस्कोटाले देशको अवस्था युक्रेन र प्यालेस्टाइनका जनताको जस्तो नहोस् भन्ने कामना गर्दै लेखेका छन्, ‘राष्ट्रिय खरानी दिवसको शुभकामना।’
उनले आफ्नो टिप्पणीको अन्त्यमा ‘खरानेबाहेक अरू चुप’ भन्दै व्यंग्यात्मक टिप्पणीसमेत गरेका छन्।









