२१ भाद्र २०८३, आईतवार
,
Latest
छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर



अ+ अ-

नुवाकोट । भोटेकोशी बाढीका कारण नियमित सेवन गर्दै आएका औषधि गुमाएका ज्येष्ठ नागरिकलाई लक्षित गरी नुवाकोटको विदुर नगरपालिका–३, सिर्खलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

भदौ २० गते सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट २०० जनाले स्वास्थ्य सेवा लिएका छन्। सेवा लिनेमा १०१ जना ज्येष्ठ नागरिक रहेका छन्। तीमध्ये ४८ जना महिला र ५३ जना पुरुष रहेको आयोजकले जनाएको छ।

बाढीका कारण प्रभावित क्षेत्रमा ज्येष्ठ नागरिकले नियमित सेवन गर्दै आएका सुगर, प्रेसरलगायत नसर्ने तथा दीर्घरोगसम्बन्धी औषधि गुमाएका थिए। औषधि अभावका कारण नियमित उपचार प्रभावित भएपछि शिविरमार्फत स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकीय परामर्श तथा आवश्यक औषधिसम्बन्धी सेवा उपलब्ध गराइएको हो।

शिविरमा ज्येष्ठ नागरिक रोग विशेषज्ञ, अर्थोपेडिक्स, मुटु रोग तथा दन्तसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो। बाढीका कारण शारीरिक स्वास्थ्यसँगै मानसिक तनावमा रहेका प्रभावित परिवारलाई समेत लक्षित गरी मनोसामाजिक सेवा प्रदान गरिएको आयोजकले जनाएको छ।

शिविरका क्रममा २५ जना ज्येष्ठ नागरिक तथा उनीहरूका परिवारका सदस्यलाई तनाव व्यवस्थापन तथा मनोसामाजिक परामर्श दिइएको थियो। विपद्पछि उत्पन्न तनाव, चिन्ता तथा मानसिक दबाब व्यवस्थापन गर्न परामर्शले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैगरी, बाढी प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनमा खटिएका नेपाली सेना र सशस्त्र प्रहरी बलका बेसलाई समेत आवश्यक केही महत्वपूर्ण औषधि उपलब्ध गराइएको थियो।

बाढीबाट प्रभावित ज्येष्ठ नागरिक तथा दीर्घरोगीको नियमित उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। विपद्का कारण औषधि तथा स्वास्थ्य सेवाबाट वञ्चित भएका नागरिकलाई यस्ता कार्यक्रमले तत्काल राहत पुर्‍याउने देखिएको छ।