२१ भाद्र २०८३, आईतवार
,
Latest
पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै



अ+ अ-

सुनसरी। धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ।

पुल निर्माण सम्पन्न नहुँदा धरान–४ र ५ का स्थानीयवासी र विद्यार्थीले बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ।

धरान–५ का दीपक मगर भन्छन्, “पानी पर्छ, बाढी आउँछ। स्कुल हिँडेका विद्यार्थी बर्खामा खोला बढेपछि पानी घट्ने प्रतीक्षामा घण्टौँ खोलाको किनारमा बस्नुपर्ने अवस्था छ। बाढी नघट्दा कहिलेकाहीँ विद्यार्थी विद्यालय नै नगई घर फर्किनुपर्ने अवस्था छ।”

पुल निर्माणका लागि २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वल्र्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबीच रु. एक करोड २१ लाख ८६ हजारमा सम्झौता भएको थियो। सम्झौताअनुसार २०७८ साउनभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो।

धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बूका अनुसार निर्माणका क्रममा पुलको दुवैतर्फ पिलर उठाइए पनि त्यसपछि काम अघि बढ्न सकेको छैन। करिब ३० प्रतिशत काम भएको र अहिले निर्माण गरिएका पिलरसमेत झाडीले ढाकिएको उनले बताए। “दुवैतर्फ पिलर उठाइएको थियो, त्यसपछि काम अघि बढेन। अहिले पिलरसमेत झाडीले ढाकिसकेको छ”, उनले भने।

पुल नहुँदा धरान–४ र ५ का बासिन्दालाई धरान बजारसम्म आवतजावत गर्न समस्या हुने गरेको छ। विशेषगरी बर्खामा खोलामा बाढी आउँदा स्थानीयवासीले जोखिम मोलेर खोला पार गर्नुपर्ने र बिरामीलाई अस्पताल लैजानसमेत कठिन हुने गरेको वडाध्यक्ष लिम्बूले बताए। अस्थायी रूपमा बाँसको पुल बनाए पनि बर्खाको बाढीले बगाउने भएकाले स्थायी पुल आवश्यक रहेको उनको भनाइ छ।

पुल नहुँदा स्थानीय किसानले उत्पादन गरेका सागसब्जी, दूधलगायत कृषि उपज धरान बजारसम्म पुर्‍याउनसमेत समस्या हुने गरेको छ। धरान–४ र ५ का किसानले उत्पादन गरेका कृषि उपज धरान बजारमा बिक्रीका लागि लैजाने गरेका छन्। पुलको अभावमा विद्यार्थीको पढाइसमेत प्रभावित हुँदै आएको छ।

धरान–५ मा कक्षा ५ सम्ममात्र पढाइ हुने विद्यालय रहेकाले कक्षा ६ भन्दा माथि अध्ययन गर्ने विद्यार्थी धरान बजारतर्फ जानुपर्ने हुन्छ। मनटार, सुमनटार, मुक्तिलाल, निशानडाँडा र तल्लो निशानडाँडाका विद्यार्थी यही मार्ग हुँदै विद्यालय जाने गरेका छन्। बर्खाको समयमा परीक्षा परेका बेला खोलामा बाढी आएर तर्न नसक्दा विद्यार्थी परीक्षा दिनबाट समेत वञ्चित हुने गरेका छन्।

पुल निर्माणका लागि पटक पटक म्याद थपिए पनि निर्माण कम्पनीले काम अघि बढाएको छैन। वडाध्यक्ष लिम्बूका अनुसार २०८१ चैत १२ गते ठेकेदार पक्षसँग जेठ मसान्तसम्म काम सम्पन्न गर्ने सहमति भएको थियो। पछि पुनः सम्पर्क गर्दा २०८२ फागुनसम्म निर्माण सम्पन्न गर्ने जानकारी गराइएको भए पनि हालसम्म काम सुरु भएको छैन।

पुल निर्माणको विषयमा २०८१ चैतमा कोशी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले स्थलगत अनुगमन गरेका थिए। सो क्रममा काम नगर्ने ठेकेदार कम्पनीको ठेक्का रद्द गरी धरौटी जफत गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिइएको थियो। तर, ठेकेदार कम्पनीले अदालतबाट अन्तरिम आदेश लिएपछि प्रक्रिया अघि बढ्न नसकेको बताइएको छ।

पुल निर्माण सम्पन्न भए धरान–४ र ५ का बासिन्दाको दैनिक आवतजावत, कृषि उपज ढुवानी, विद्यार्थीको विद्यालय आवतजावत तथा स्वास्थ्य सेवामा पहुँच सहज हुने स्थानीयको अपेक्षा छ। साथै, यस मार्गबाट धनकुटाको राजा रानी तथा मोरङको याङ्शीला र केराबारी हुँदै धनकुटा र मोरङसम्म आवतजावत गर्नसमेत सहज हुने वडाध्यक्ष लिम्बूले बताए।