काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट आज जीवितै उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।
उद्धार गरिएका ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनलाई उपचार तथा थप स्वास्थ्य परीक्षणका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।
साह आयोजनामा मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए । उनीहरूलाई आज सुरुङबाट जीवितै उद्धार गरिएको थियो ।
उद्धारपछि गरिएको प्रारम्भिक स्वास्थ्य परीक्षणमा दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ । थप स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारका लागि उनीहरूलाई काठमाडौं पठाइएको हो ।
त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका सुरक्षा निकाय तथा उद्धार टोली परिचालन गरिएको थियो ।









