१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास



अ+ अ-

काठमाडौं । भियतनामको दानाङमा जारी तेस्रो पिकलबल विश्वकप–२०२६ मा नेपालले ऐतिहासिक सफलता हात पारेको छ। नेपाली खेलाडी दावा सोनाम शेर्पाले पुरुष एकलतर्फ कास्यपदक जित्दै पिकलबल विश्वकपमा नेपाललाई पहिलो पदक दिलाएका छन्।

अगस्ट ३० देखि सेप्टेम्बर ६ सम्म सञ्चालन भइरहेको प्रतियोगितामा दावाले सुरुआती चरणदेखि नै उत्कृष्ट प्रदर्शन गरेका थिए। सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग प्रतिस्पर्धा गरेका उनले तेस्रो स्थानका लागि भएको खेलमा ब्राजिलका खेलाडीलाई २१–१२, २१–१२ को सोझो सेटमा पराजित गर्दै कास्यपदक पक्का गरे।

प्रतियोगिताका खेलहरू भियतनामको दानाङस्थित Tiên Sơn Sports Palace लगायतका आधिकारिक पिकलबल कोर्टमा सञ्चालन भइरहेका छन्।

दावा पूर्व राष्ट्रिय टेनिस खेलाडी हुनुका साथै व्यावसायिक गल्फ खेलाडीसमेत हुन्। टेनिसबाट हासिल गरेको खेल प्रविधि, कोर्टमा प्रतिस्पर्धा गर्ने अनुभव तथा बल नियन्त्रणसम्बन्धी सीपलाई पिकलबलमा प्रभावकारी रूपमा प्रयोग गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गरेका हुन्।

पुरुष एकलतर्फ मंगोलियाका खेलाडीले स्वर्ण तथा जापानका खेलाडीले रजत पदक जितेका छन्।

दानाङबाट प्रतिक्रिया दिँदै दावाले आफूले जितेको पदक व्यक्तिगत सफलतामा मात्र सीमित नरहेको बताए। यो उपलब्धि नेपाली पिकलबलसँगै समग्र नेपाली खेलकुदका लागि महत्वपूर्ण रहेको उनको भनाइ छ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै पदक जित्न पाउनु गौरवको क्षण भएको बताउँदै उनले नेपाली खेलकुदको विकास र अन्तर्राष्ट्रिय सहभागिता विस्तारका लागि निरन्तर प्रयास आवश्यक रहेको उल्लेख गरे।

यसै क्रममा दावाले नेपालमा हालै आएको बाढीपहिरोबाट भएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदनासमेत प्रकट गरेका छन्। देश गम्भीर प्राकृतिक विपत्तिबाट गुज्रिरहेका बेला अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा बोकेर पदक जित्न पाउनु आफ्नो लागि अझ विशेष क्षण भएको उनले बताए।

विश्वकपमा नेपालबाट १८ सदस्यीय टोलीले सहभागिता जनाएको छ। दावाको ऐतिहासिक कास्यपदकले नेपाली टोलीको सहभागितालाई थप महत्वपूर्ण बनाएको छ।