१६ भाद्र २०८३, मंगलवार
,
Latest
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति मिल्थ्यो’



अ+ अ-

काठमाडौँ। गत भदौ १० गते चीनको केरुङ क्षेत्रबाट आएको भीषण बाढीले रसुवा र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ ।

भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक बाढी (फ्ल्यास फ्लड) का कारण हजारौँ नागरिक बेपत्ता भएका छन् भने अर्बौँको भौतिक पूर्वाधार ध्वस्त भएको छ ।

विपद्को यतिका दिन बितिसक्दा पनि पीडितहरूले राज्यको उपस्थिति महशुस गर्न नसकेको र उद्धार तथा राहतमा चरम ढिलाइ भएको गुनासो गरेका छन् ।

कालिका गाउँपालिका–३ का स्थानीय अर्जुनप्रसाद न्यौपानेकाअनुसार बाढीले रसुवागढी बोर्डरदेखि बेत्रावतीसम्मको तल्लो र माथिल्लो तटीय क्षेत्रमा अपूरणीय क्षति पुर्याएको छ ।

रसुवागढी, टिमुरे, घट्टेखोला, स्याफ्रुबेसी, पहिरेबेसी र मैलुङ लगायतका क्षेत्रमा रहेका मानवीय बस्ती र भौतिक संरचनाहरू बाढीले नामेट पारेको छ । ‘हाम्रो जिल्ला नेपालको अन्तिम भूभागमा पर्ने भएकाले पनि हो कि, राज्यले सधैँ सौतेनी व्यवहार गरिरहेको छ । न्यौपाने भन्नुहुन्छ, ‘उद्धारका लागि समयमै हेलिकप्टर पुग्न सकेन । मानिसहरू तितरबितर भएका छन्, को कहाँ छन् भन्ने अत्तोपत्तो छैन ।’

बाढीका कारण सडक सञ्जाल र पुलहरू पूर्ण रूपमा ध्वस्त भएपछि रसुवाका माथिल्लो भेगका धुन्चे, स्याफ्रु, गत्लाङ, गोल्जुङ, थुमन, ब्रिदिम, हाकु र तिरु जस्ता गाउँहरू बाँकी विश्वबाट अलग भएका छन् । ती क्षेत्रमा खाद्यान्न संकट चुलिएर भोकमरीको अवस्था सिर्जना हुन लागेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । वैकल्पिक सडक मार्ग नभएकाले तत्काल हवाई मार्गबाट राहत सामग्री ढुवानी नगरे बाँचेका नागरिक पनि भोकै मर्ने अवस्था रहेको न्यौपानेको दाबी छ ।

बाढीको विभिषिका यति भयानक थियो कि धेरैले आफ्ना परिवारका सदस्यलाई आँखाअगाडि नै नदीले बगाएको टुलुटुलु हेरेर बस्नुप¥यो । नुवाकोटको विदुर–१०, बेत्रावतीका शेषबहादुर लामिछानेले सोही दिन आफ्नी ४७ वर्षीया श्रीमतीलाई गुमाए । होटल व्यवसाय सञ्चालन गर्दै आएका लामिछानेको घर त्रिशूली नदीको सतहभन्दा निकै माथि भएपनि सुनामी जस्तो आएको बाढीले उनको सर्वस्व लुटेको छ ।

‘श्रीमतीले मलाई बुबा र दाइहरूलाई बचाउन पठाएकी थिइन्, मैले उनीहरूलाई त सुरक्षित ठाउँमा पुर्याएँ, तर मेरी श्रीमती भाग्न सकिनन् ।’ लामिछाने भावुक हुँदै भन्नुभयो, ‘मेरो दाइकी नातिनीलाई कान्लामा फ्यालेर उनले बच्चाको ज्यान त बचाइन् तर आफूलाई भने बाढीबाट जोगाउन सकिनन् ।’

लामिछाने अहिले काठमाडौंका अस्पताल र मर्चरीहरूमा श्रीमतीको शव पहिचानका लागि भौँतारिरहेका छन् । तर फेला परेका शवहरू क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न असम्भवप्रायः छ । डिएनए परीक्षणका लागि ठूलो खर्च लाग्ने र लामो समय कुर्नुपर्ने झन्झटिलो प्रक्रियाले पीडितलाई थप मानसिक तनाव दिएको छ ।

उहाँ भन्नुहुन्छ, ‘हामी त सडकमा आयौँ । राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति मिल्ने थियो ।’

बाढीको पूर्वसूचनालाई लिएर पीडित र सरकारबीच विरोधाभासपूर्ण दाबी देखिएको छ । सरकारले समयमै सूचना जारी गरेको दाबी गरे पनि घटनास्थलमा रहेकाहरूले भने कुनै चेतावनी नपाएको बताएका छन् । सल्यानबाट रसुवा हाइड्रोपावरमा काम गर्न आएका १६ जना कामदारको एउटै समूह बाढीमा परेर बेपत्ता भएको छ । तीमध्येका आफन्त आशा मगरले सरकारको चरम लापरवाहीका कारण यति ठूलो मानवीय क्षति भएको आरोप लगाउनु भयो ।

‘हाम्रो दुईवटा भाई, काका र छिमेकी गरी १६ जना सबैलाई बाढीले लग्यो । सरकारले सूचना दिएको भए उनीहरू किन भागेनन् ? किन कोठाभित्रै थुनिएर मर्नुप¥यो ?’ मगरले आक्रोश पोख्दै भन्नुभयो, ‘८ बजे चीनमा बाँध फुटेको जानकारी हुँदाहुँदै १० बजे बाढी आउँदासम्म किन स्थानीयलाई शतर्क गराइएन ? यो सरासर राज्यको लापरवाही हो ।’

अहिले टिचिङ हस्पिटल र ट्रमा सेन्टरमा आफ्ना आफन्तको नाम वा फोटो फेला पर्ने आशमा बसेका धेरै परिवारहरू निराश भएर फर्कनुपर्ने अवस्था छ । कतिपयले आफ्ना आफन्तको जीवितै पाउने आशा मारिसकेका छन् भने अन्तिम पटक अनुहार देख्न पाउने अधिकारबाट समेत वञ्चित हुनुपर्ने हो कि भन्ने डरमा छन् ।

रसुवाका बाढीपीडितहरूले अहिलेको तत्कालीन राहतले मात्र जीवन निर्वाह नहुने भन्दै दीर्घकालीन पुनस्र्थापनाको माग गरेका छन् । घरवास, श्रीसम्पती र परिवारका सदस्य गुमाएका उनीहरूका लागि राज्यले विशेष प्याकेज घोषणा गर्नुपर्ने उनीहरूको माग छ । विशेषगरी माथिल्लो रसुवाको भौगोलिक विकटता र भत्किएका पूर्वाधारका कारण त्यहाँका बासिन्दाको जीवन रक्षाका लागि सरकारले युद्धस्तरमा काम गर्नुपर्ने देखिएको छ ।

भदौ १० को त्यो कहालीलाग्दो रातले रसुवावासीको जनजीवन मात्र खलबल्याएको छैन, राज्यको विपद् व्यवस्थापन क्षमता र नागरिकप्रतिको जिम्मेवारीमाथि समेत ठूलो प्रश्नचिन्ह खडा गरिदिएको छ । पीडितहरू अझै पनि नदीका बगर र अस्पतालका कोरिडोरहरूमा न्याय र सहयोगको प्रतीक्षामा छन् । –न्युज एजेन्सी नेपाल