१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो



अ+ अ-

काठमाडौँ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा पावरहाउसमा फसेका नागरिकको उद्धारमा सरकारले प्राथमिकता नदिएको परिवारजनले गुनासो गरेका छन् ।

नेपाल इन्जिनियर्स एसोसिएसनको ललितपुरस्थित कार्यालयमा आयोजित कार्यक्रममा इन्जिनियर तथा प्राविधिकका आफन्तहरुले यस्तो गुनासो गर्नुभएको हो ।

विपद्पछिको खोज तथा उद्धारमा सरकारले केही काम गरेपनि सुरुङ र पावरहाउसमा रहेका नागरिकको उद्धारमा उदासीनता देखाएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरे ।

बाढीमा परि सम्पर्कविहीन हुनुभएका इन्जिनियर निरजबाबु रेग्मीका काका यमलाल रेग्मीले सरकारले सुरुङ तथा पावरहाउसमा फसेका नागरिकको उद्धारमा सक्रियता नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले ६ दिनदेखि भतिज निरजको उद्धार गरिदिन भन्दै राज्यका निकायहरमा हारगुहार गर्दा समेत अपेक्षित सहयोग पाउन नसकेको बताउनु भयो । उहाँले सरकारले जंगलमा रहेका तथा अन्य नागरिकको उद्धार गरेको भएपनि सुरुङ र पावरहाउसमा रहेका नागरिकको उद्धारमा प्रभावकारी काम गर्न नसकेको बताउनुभयो । उहाँले बेल्चा लिएर गएर मात्र सुरुङ खोल्न नसकिने भन्दै उहाँले विदेशको सहयोगमा भएपनि नागरिकको उद्धार प्रणाली प्रभावकारी बनाउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मेरो भतिज सम्पर्कविहीन भएको छ । मैले उसको उद्धारको लागि मन्त्रालय र राज्यका निकायहरुसँग समेत हारगुहार गरिरहेका छौँ । त्यहाँ मेरो भतिज मात्र होइन थुप्रै जना अड्किनुभएको अवस्था छ । सरकारले उद्धार गरेको छ नगरेको होइन । तर प्राथमिकता कतातिर हुनुपर्ने हो त्यतातिर प्राथमिकतामा परेन जस्तो हो । अस्ति मात्र त्रिसुली एमा नै मन्त्रीज्यूले मसिन लैजान सकिएन भन्ने जवाफ बाढी आएको तेस्रो दिनमा जवाफ दिनुभयो । उद्धार गर्ने भनेर केही उद्धारकर्मीहरु बेल्चा लिएर परिचालन गरिएको थियो । अब भन्नुस हाम्रो व्यवस्थापकीय क्षमाता कस्तो रैछ ?’

नारायणी जोशीले आफ्ना श्रीमानसहित नेपाल विद्युत प्राधिकरणका ४० जना कर्मचारी त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनामा उद्धारको पर्खाइमा रहेको बताउनु भयो । उहाँले त्रिशूली थ्री ए को पावरहाउस अन्य पावरहाउसको तुलनामा सुरक्षित रहेको जानकारी पाएपछि परिवारजन उनीहरू जीवितै रहेको आशामा उद्धारको प्रतीक्षा गरिरहेको बताउनु भयो । उहाँले उद्धारको पखाईमा रहेका नागरिकको उद्धारमा सरकारले तदारुकता नदेखाएको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । उहाँले एकदुई जना नभई सुरुङ र पावरहाउसमा सयौँ नागरिक फसेपनि सरकारले यस्तो जटिल स्थितिलाई समेत हलुका रुपमा लिएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘१० असारको बाढीमा मेरो श्रीमानसहित ४० जना एनइएका कर्मचारी त्रिसुली थ्री एमा हाइड्रोपावरमा अड्किएर बस्नुभएको छ ।  त्यो पावरहाउस अन्य पावरहाउसभन्दा सेफ छ भन्ने सुनिएको छ । त्यसकारण हाम्रा आफन्तहरु त्यहाँ जीवित छन् भनेर आशासहित राज्य संयन्त्रसँग हारगुहार गरिरहेका छौँ । उद्धारमा नै सरकारको सक्रियता छैन । यति क्रिटिकल कुरालाई गर्भमेन्टले यति हलुका रुप्मा कसरी लियो । बाढी आएको दोस्रो दिनमै उद्धार हुनुपर्नेमा ६ दिन भइसक्यो । सरकारको प्राथमिकता के हुनुपथ्र्यो ?’

सम्पर्कविहीन भएका नागरिकका आफन्तले उद्धारमा सरकारको सक्रियता पर्याप्त नभएकै कारण बाढी आएको ६ दिन बितिसक्दा पनि आफन्तहरू सम्पर्कमा नआएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल