१० भाद्र २०८३, बुधबार
,
Latest
भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद्मा राष्ट्रिय एकताका साथ उद्धारमा जुट्न सांसद विकको आग्रह



अ+ अ-

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले प्राकृतिक विपद्को सामना गर्न राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर राष्ट्रिय एकताका साथ उद्धार तथा राहत कार्यमा जुट्न सरकार र सरोकारवाला पक्षलाई आग्रह गर्नुभएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद विकले अविरल वर्षाका कारण रसुवा, धादिङ, चितवनलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले विपद्का कारण हजारौँ नागरिक बेपत्ता भएको, लाखौँ प्रभावित भएको र अर्बौँ रुपैयाँ बराबरको क्षति भएको उल्लेख गर्दै प्रभावित क्षेत्रमा जनजीवन सामान्य बनाउन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो । आवश्यक परे सांसदहरूलाई समेत उद्धार तथा राहत कार्यमा परिचालन गर्न उहाँले आग्रह गर्नुभयो ।

सांसद विकले विगतमा जाजरकोटमा बाढीपहिरोबाट विस्थापित भएका परिवारले अझै उचित व्यवस्थापन पाउन नसकेको स्मरण गर्दै वर्तमान विपद्का पीडितले पनि त्यस्तै नियति भोग्न नपरोस् भन्नेतर्फ सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

उद्धार र राहतमा सरकारको मात्र प्रयास पर्याप्त नहुने भन्दै उहाँले निजी क्षेत्रलाई समेत तत्काल परिचालन गर्न सुझाव दिनुभयो । साथै, विगतका विपद्मा सहयोग गरेका स्वदेशी तथा विदेशी सहयोगी निकायलाई पुनः सक्रिय भएर सहयोगमा जुट्न उहाँले अपिल गर्नुभयो ।

विपद्को संवेदनशील समयमा सामाजिक सञ्जालमार्फत त्रास र भ्रम फैलाउने गतिविधि भइरहेको भन्दै सांसद विकले तथ्यपूर्ण र जिम्मेवार सूचना मात्र सम्प्रेषण गर्न आग्रह गर्नुभयो । नकारात्मक तथा भयावह सन्देशले नागरिकमा थप त्रास र निराशा पैदा गर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थामा नागरिकको जिउधनको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ। सरकारले हामी सांसदहरूलाई पनि कुन रूपमा र कसरी परिचालन गर्न सक्छ, त्यसका लागि हामी तयार छौँ । हामीलाई पनि उद्धार कार्यमा खटाइयोस् ।’

सांसद विकले प्राकृतिक विपद्बाट पीडित नागरिकको घाउमा मलम लगाउने गरी मानवीय भावनाका साथ अघि बढ्न र नागरिकलाई हतोत्साहित बनाउने गतिविधि नगर्न सबै पक्षलाई आग्रह गर्नुभयो ।