काठमाडौँ। नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा, हिमाली भेगका बालबालिकाको उत्थानमा सहयोग पुर्याउँदै आएको इनलाइट इन्टरनेसनलले काठमाडौंको एउटा विद्यालय र स्वास्थ्य केन्द्रमा सहयोग प्रदान गरेको छ ।
अमेरिकामा बस्दै आएकी चिनिया महिला जिउमेइ अर्थात् छिओङ यिङचोमाले नेतृत्व गरेको उक्त संस्थाले काठमाडौंको छेत्रपाटी निःशुल्क चिकित्सालयमा सञ्चालित मिर्गौला डायलाइसिस केन्द्र र आर्यतारा विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराएको हो ।
उक्त संस्थाका अध्यक्ष, केही सदस्य तथा सहयोगीहरूले प्रसिद्ध नेपाली बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्माद्वारा स्थापित आरोग्य फाउन्डेसनको सहयोगमा सञ्चालित डायलाइसिस केन्द्र र विद्यालयको भ्रमण गरेर उक्त सहयोग हस्तान्तरण गरेका हुन् । छिओङ यिङचोमो नेतृत्व टोलीले केन्द्रलाई आर्थिक सहयोय र बिरामीलाई कपडा उपलब्ध गराएको बताइएको छ ।
आगामी दिनमा नेपालमा सार्वजनिक स्वास्थ्य प्रणालीको विकास, विशेषगरी महिला बिरामी तथा अन्य विपन्न र जोखिममा रहेका समुदायलाई सहयोग गरिने जानकारी दिइएको छ ।
आर्य तारा विद्यालयले विशेषगरी विपन्न परिवारका बालिकालाई शिक्षाको अवसर र सहयोगी वातावरण उपलब्ध गराउँदै आएको छ। उक्त विद्यालयलाई पछिल्लो पटक करिब ७ लाख नेपाली रुपैयाँ सहयोग उपलब्ध गराइएको छ ।
इनलाइटले नेपालका विभिन्न शैक्षिक तथा परोपकारी संस्था र समुदायलाई समेत आर्थिक सहयोग गर्दै आएको जनाएको छ । हालसम्म सहयोग प्राप्त गरेका संस्थामा लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनीस्थित विश्व शान्ति स्तूपा, आर्य तारा विद्यालय, मिङ्युर रिन्पोछेको हिमाली बालविहार, छोक्नी रिन्पोछेको भिक्षुणी विद्यालय, शाब्तेन तेन्जिन रिन्पोछेका गुम्बा तथा भिक्षुणी समुदाय र नेपालको दुर्गम हिमाली क्षेत्रका विपन्न बालबालिकासँग सम्बन्धित संस्था हुन्। संस्थाले प्रदान गरेको सहयोग रकम चिनियाँ, अमेरिकीलगायत विभिन्न मुलुकका व्यवसायी र सहृदयीहरुबाट संकलन गरेको बताइन्छ ।








