९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी



अ+ अ-

बुडापेस्ट। हङ्गेरीको विदेश मन्त्रालयले कोभिड–१९ महामारीका बेला करिब ९६ करोड ५० लाख अमेरिकी डलरमा भेन्टिलेटर खरिद गरिएको विषयमा सम्भावित ठगी भएको भन्दै अभियोजनकर्तासमक्ष आपराधिक उजुरी दर्ता गरेको छ ।

विदेशमन्त्री अनिता ओर्बानले मङ्गलबार उक्त जानकारी दिँदै पूर्वप्रधानमन्त्री भिक्टर ओर्बान नेतृत्वको सरकारले सन् २०२० को मार्च र अप्रिलमा चीनबाट करिब १७ हजार भेन्टिलेटर खरिद गरेको बताउनुभयो । उक्त खरिदमा आवश्यकताभन्दा धेरै उपकरण किनेको र अन्य युरोपेली मुलुकको तुलनामा प्रतियुनिट निकै बढी मूल्य तिरेको भन्दै त्यसबेला आलोचना भएको थियो ।

ओर्बानले फेसबुकमा सार्वजनिक गरेको भिडियोमा मन्त्रालयको अनुसन्धानले ‘विश्वासको कर्तव्य उल्लङ्घनको आशङ्का’ देखाएको र त्यसबाट ठूलो आर्थिक क्षति तथा अन्य आपराधिक गतिविधि भएको हुन सक्ने बताउनुभयो ।

उहाँले आरोपका विस्तृत विवरण सार्वजनिक नगरे पनि अनुसन्धानका क्रममा दशौँ हजार दस्तावेज परीक्षण गरिएको बताउनुभयो । उहाँका अनुसार केही दस्तावेज मेटाउने प्रयास गरिए पनि डिजिटल उपकरणबाट पुनःप्राप्त गरिएको थियो । अनुसन्धानले मन्त्रालयको पूर्वउच्च नेतृत्वको जिम्मेवारीबारे थप प्रश्न उठाएको उहाँले बताउनुभयो ।

हङ्गेरी सरकारले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भेन्टिलेटर खरिदमा अन्य शङ्कास्पद अनियमितता पनि देखिएको उल्लेख गरेको छ । अधिकांश उपकरण मध्यस्थ कम्पनीमार्फत खरिद गरिएको र ती कम्पनीको आम्दानी कारोबारपछि उल्लेख्य रूपमा बढेको विज्ञप्तिमा जनाइएको छ ।
केही भेन्टिलेटरमा खराबी देखिएको र ठूलो सङ्ख्यामा उपकरण प्रयोगमै नल्याइएको पनि सरकारले जनाएको छ । प्रयोग नगरिएका उपकरण भण्डारण गर्दा लाखौँ डलर खर्च भएको विज्ञप्तिमा उल्लेख छ ।

हङ्गेरीका पूर्वविदेशमन्त्री पिटर सिज्जार्टोले आफ्नो करिब १२ वर्षे कार्यकालमा चीनसँग घनिष्ठ सम्बन्ध विकास गर्नुभएको थियो । उहाँले भेन्टिलेटर खरिदका साथै चीनबाट ५० लाख डोज सिनोफार्म कोभिड–१९ खोप खरिदको पनि निरीक्षण गर्नुभएको थियो ।

गत महिना सिज्जार्टोले चिनियाँ विद्युतीय सवारी निर्माता बीवाइडीमा कार्यकारी पद सम्हाल्न संसद् सदस्यबाट राजीनामा दिनुभएको थियो । पदमा रहँदा कम्पनीलाई दिइएको ठूलो सरकारी अनुदानमा भूमिका खेलेको भन्दै उहाँमाथि स्वार्थको द्वन्द्वको आरोप लागेको थियो ।

त्यसपछि हङ्गेरी सरकारले सिज्जार्टोको कार्यकालमा बीवाइडीले हङ्गेरीमा गरेको ठूलो लगानीसम्बन्धी अनुसन्धान पनि सुरु गरेको छ । (रासस\एपी)