९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल



अ+ अ-

सुदूरपश्चिम। सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले नेपाल सरकारको ‘स्प्रिट’ अनुसार काम कारबाही गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण धनगढीमा आज आयोजित कार्यक्रममा उहाँले प्रदेशका प्रदेश कार्यालय प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदी, नौवटै जिल्लाका सशस्त्र प्रहरी कार्यालय प्रमुख, कैलाली र कञ्चनपुरका सीमा सुरक्षा गुल्म, बिओपी र बेसका प्रमुखलगायतलाई सरकारको नीति तथा निर्देशनअनुसार काम गर्न निर्देशन दिनुभएको हो ।

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार मानी सीमा क्षेत्रबाट हुने सीमा अपराध, अवैध चोरी–पैठारी तथा निकासी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो । साथै नेपाल सरकारको भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अक्षरशः पालना गर्न आग्रह गर्नुभयो ।

पछिल्लो समय युवा वर्ग लागुऔषधको कुलतमा फस्दै गएको र त्यसले समाजमा अन्य अपराधसमेत बढाउन सक्ने भन्दै महानिरीक्षक पौडेलले लागूऔषधको ओसारपसा नियन्त्रणका लागि सशक्त रूपमा परिचालन हुन निर्देशन दिनुभयो । उहाँले सशस्त्र प्रहरी बल सीमा सुरक्षामा अग्रपङ्क्तिमा खटिएको उल्लेख गर्दै सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन क्रमशः सीमालाई डिजिटल प्रणालीमा लैजाने तयारी भइरहेको बताउनुभयो ।

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारीलाई ड्युटीमा खटिँदा इमानदारिता, सक्रियता र व्यावसायिकता प्रदर्शन गर्न निर्देशन दिँदै नीति, नियम, कानुन तथा आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीमाथि कडा कारबाही गरिने बताउनुभयो । यसैगरी उहाँले मौसमी विपद्बाट हुनसक्ने धनजनको क्षति न्यूनीकरणका लागि आम नागरिकसँग २४सै घण्टा समन्वय र सम्पर्कमा रहन तथा विपद्को अवस्थामा आवश्यक सामग्रीसहित तत्काल परिचालन हुन पनि निर्देशन दिनुभयो ।

महानिरीक्षक पौडेलले कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीसँग जिल्लाको वर्तमान सुरक्षा अवस्था तथा सुरक्षा व्यवस्थापनका विषयमा समेत छलफल गर्नुभएको थियो ।

यसअघि उहाँले आज बिहान कैलालीको गौरीफन्टा नाकाको निरीक्षण गरी वस्तुस्थितिबारे जानकारी लिनुभएको थियो । निरीक्षणका क्रममा महानिरीक्षक पौडेलले सीमा सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै सीमासम्बन्धी समस्या, अपराध नियन्त्रण तथा नागरिकको सुरक्षाका विषयमा आफूहरू गम्भीर रहेको बताउनुभएको थियो ।

महानिरीक्षक पौडेलले सोमबार सुदूरपश्चिम प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल वैद्यनाथ वाहिनी मुख्यालय अत्तरिया, कैलाली तथा कैलालीको सीमावर्ती क्षेत्रमा रहेका विभिन्न सीमा सुरक्षा गुल्म तथा नाकाको अनुगमन तथा निरीक्षण गर्नुभएको थियो ।

उहाँले सीमानाकामा क्रियाशील सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिसँग अन्तरक्रिया गरी सीमा सुरक्षाको अवस्थाबारे जानकारी लिनुभएको सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण धनगढीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षण खुमबहादुर केसीले जानकारी दिनुभयो ।  रासस