७ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

किस्पाङ बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको आकर्षण



अ+ अ-

नुवाकोट। नुवाकोटको किस्पाङ गाउँपालिकाद्वारा सञ्चालित किस्पाङ बहुप्राविधिक शिक्षालयमा सातै प्रदेशका विभिन्न जिल्लाका विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

२०८३/८४ का लागि ‘डिप्लोमा इन फार्मेसी’ र सामान्य चिकित्सातर्फ ४०/४० स्थान (कोटा) पूर्ण भएको छ । ती कोटाका लागि जम्मा ९८ जनाको आवेदन परेको शिक्षालयले जनाएको छ ।

गत तीन वर्षयता गाउँपालिकाद्वारा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धन लिएर सञ्चालित विद्यालयमा हालसम्मका सबै सत्रमा पूर्ण कोटामा विद्यार्थी अध्ययनरत रहेको शिक्षालयका प्रमुख विनोद न्यौपानेले जानकारी दिनुभयो । सातै प्रदेश र ३६ जिल्लाका विद्यार्थी अध्ययन गर्ने हिसाबले पनि यो शिक्षालय सम्भवतः मुलुककै पहिलो शिक्षालय बनेको उहाँको भनाइ छ । गृह जिल्ला नुवाकोटका ७८ र अन्य जिल्लाका १६४ विद्यार्थी छन् ।

पर्यटकीय गाउँमा सुलभ मूल्यमा प्राविधिक शिक्षालय सञ्चालन गरेपछि पूर्वदेखि पश्चिमको विद्यार्थीहरू प्राविधिक शिक्षा लिन किस्पाङ पुगेका न्यौपानेले बताउनुभयो । मुलुकभरका गाउँपालिकामध्ये स्वास्थ्यतर्फको बहुप्राविधिक शिक्षालय आफैँले सञ्चालन गर्नेमा पहिलो भएको किस्पाङ गाउँपालिकाले सामान्य चिकित्सा र डिप्लो इन फार्मेसी पूरा गर्न रु एक लाख ९५ हजार मात्रै शुल्क लिँदै आएको उहाँले जानकारी दिनुभयो ।

किस्पाङ गाउँपालिका-३, काहुलेमा २०८० सालमा स्थापत सो शिक्षालयले पहिलो व्याच ढिलो सम्बन्धका कारण डिप्लोमा इन फार्मेसी मात्र भर्ना गरेको थियो । दोस्रो ब्याचका सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसीको सबै कोटा पूर्ण रूपमा तथा तेस्रो ब्याचको सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसीको सबै कोटा पूर्ण हुनेगरी भर्ना गरिएको शिक्षालयले जनाएको छ ।

किस्पाङ अहिले शैक्षिक पर्यटनको गाउँ पनि सावित भएको छ । यहाँ बाहिरी जिल्लाबाट आएका अधिकांश विद्यार्थी शिक्षालयकै होस्टेलमा बसेर पढ्छन् । केहीले शिक्षालय वरपरको बजारमा डेरा लिएका जनाइएको छ ।

नयाँ शैक्षिकसत्रका लागि भर्ना भएका विद्यार्थीको स्वागतका लागि आज शिक्षालयले राष्ट्रिय कलाकार थानेश्वर गौतम र विद्यार्थीहरुको गीत, नृत्यसहित आयोजना गरेको सांस्कृतिक कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक, सरोकार भएका पक्षले बहुप्राविधिक शिक्षालय स्थापनाको सङ्घर्षका क्षण सम्झँदै छोटो समयमा गरिएको प्रगतिको प्रशंसा गरेका छन् ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री बहादुरसिंह लामाले शैक्षिक जनशक्ति उत्पादनका साथै समृद्धिको केन्द्र बनाउने सोचका साथ बहुप्राविधिक शिक्षालयले काम गरिरहेको बताउनुभयो । उहाँले पहिला गाउँका विद्यार्थी अन्यत्र पढ्न जाने गरेकामा अहिले अन्यत्रबाट किस्पाडमा आउँदा खुसी लागेको बताउनुभयो ।

प्रदेशसभाका पूर्वसदस्य एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य हिरानाथ खतिवडाले शिक्षालयको विकासको लागि आफूहरु हरदम सहयोग गर्न तत्पर रहेको बताउनुभयो । गाउँपालिकाका कार्यवाहक अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले निकै मेहनत गरेर शिक्षालयको स्थापना गरिएको जनाउँदै दरबन्दी पूर्ण हुने गरी नियमित भर्ना हुनु उत्साहप्रद रहेको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयबाट भवन निर्माणका लागि रु तीन करोडको निर्माण भएको सो शिक्षालयमा आव २०८२/८३ का लागि सोही मन्त्रालयले रु तीन करोड विनियोजन गरेकामा अहिले शिक्षालयको आफ्नै जग्गामा भवन निर्माण भइरहेको छ । उहाँले क्रमशः गाउँपालिकाले बजेट बढाउँदै प्रयोगशालासहित पूर्वाधार विकास गरी शिक्षालयलाई नमुना बनाइने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रदेश कमिटीका सदस्य नारायणसिंह लामा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गाउँपालिका कमिटीका सभापति शिवप्रसाद भट्टलगायतले शिक्षाको विकासका लागि राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर काम गनुपर्नेमा जोड दिनुभयो । रासस