५ भाद्र २०८३, शुक्रबार
,
Latest
खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै यस्तो छ आज कालीमाटीमा  कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ।

बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको महामन्त्री विपीन आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकका लागि १० वटा एजेण्डा तय गरिएको छ।

बैठकले पदाधिकारी, केन्द्रीय सदस्य, सचिवालय सदस्य तथा विभाग प्रमुख चयन गर्नेछ। आजको बैठकबाट कोषाध्यक्ष र प्रवक्तासहित केही पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी छ।

रास्वपाको विधानअनुसार सभापतिले वरिष्ठ नेता, उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, प्रवक्ता र तीन सहप्रवक्ता मनोनीत गर्ने व्यवस्था छ।

यसैगरी, महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। केन्द्रीय सभापति र प्रदेश सभापतिहरू पनि स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था छ। १५८ सदस्यीय केन्द्रीय समितिमा अब सभापतिले ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ।

चितवनमा सम्पन्न महाधिवेशनबाट सभापतिमा रवि लामिछाने, उपसभापतिमा डा. स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्रीमा विपीन आचार्य तथा सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भइसकेका छन्।

२८ विभागका प्रमुख चयन हुँदै

बैठकले पार्टीका विभागीय प्रमुखसमेत मनोनयन गर्नेछ। रास्वपाको संशोधित विधानअनुसार पार्टीमा २८ वटा विभाग छन्। तीमध्ये सांगठनिक तथा परिचालनतर्फ १२ वटा र सार्वजनिक नीति तथा विषयगततर्फ १६ वटा विभाग छन्।

सांगठनिक तथा परिचालनतर्फ नीति तथा विचार, संगठन, प्रशिक्षण, अभियान तथा प्रचार–प्रसार, आन्तरिक सूचना प्रविधि तथा प्रणाली, मानव पुँजी स्वयंसेवक तथा प्रशासन, सामाजिक न्याय लैङ्गिक समानता तथा समावेशिता, कानुनी मामिला तथा संस्थागत अनुपालन, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन, र्‍याट, स्वदेश सम्पर्क (प्रदेश, जिल्ला तथा पालिका) र प्रवास सम्पर्क विभाग रहेका छन्।

त्यस्तै, सार्वजनिक नीति तथा विषयगततर्फ सुशासन तथा राज्य व्यवस्था, विधायन संसदीय मामिला तथा न्याय प्रणाली, अर्थ, कृषि भूमि व्यवस्था तथा सहकारी, शिक्षा तथा मानव पुँजी विकास, जनस्वास्थ्य, पूर्वाधार, उद्योग वाणिज्य तथा लगानी प्रवर्द्धन, श्रम रोजगार तथा सामाजिक सुरक्षा, आपूर्ति बजार सुशासन तथा उपभोक्ता अधिकार, विज्ञान सूचना प्रविधि नवप्रवर्तन तथा स्टार्टअप, वातावरण जलवायु तथा प्राकृतिक स्रोत, संस्कृति पर्यटन तथा राष्ट्रिय सम्पदा, सामाजिक न्याय तथा समता प्रवर्द्धन, युवा सशक्तीकरण तथा खेलकुद र अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभाग रहेका छन्।

बैठकले स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयन सम्बन्धमा पनि निर्णय गर्ने जनाइएको छ।