काठमाडाैँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता सरकारी कार्यालयमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनुवाइको प्रक्रियालाई तीव्रता दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले उजुरी फछ्र्यौटसँगै सरकारी कार्यालयको अनुगमन र कर्मचारीमाथिको कारबाहीलाई समेत व्यापक बनाएको हो ।
केन्द्रको तथ्यांकअनुसार गत चैतदेखि साउनसम्म एक हजार २९८ वटा उजुरी दर्ता भएकामा एक हजार ११४ वटा अर्थात् ८५ दशमलव ८२ प्रतिशत उजुरी फछ्र्यौट भएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११ दशमलव ७२ प्रतिशत विन्दुले बढी हो ।
अघिल्लो वर्ष अर्थात् विसं २०८१ चैतदेखि २०८२ साउनसम्म ५५६ वटा उजुरी दर्ता भएकामा ४१२ वटा अर्थात् ७४ दशमलव १० प्रतिशत उजुरी फछ्र्यौट भएका थिए ।
यसैगरी, सार्वजनिक सेवा प्रवाहमा देखिएको ढिलासुस्ती र अनुशासनहीनता अन्त्य गर्न सतर्कता केन्द्रले सरकारी कार्यालयको अनुगमनलाई समेत तीव्र बनाएको छ । विसं २०८१ चैतदेखि २०८२ साउनसम्म ३१८ वटा सरकारी कार्यालयको अनुगमन गर्दा आचारसंहिता तथा समय पालना नगर्ने दुई हजार २१३ जना र तोकिएको पोशाक नलगाउने ५६२ जना गरी दुई हजार ७७५ जना कर्मचारीले अनुशासन उल्लंघन गरेको पाइएको थियो ।
त्यसको तुलनामा गत चैतदेखि साउनसम्म अनुगमन गरिएका कार्यालयको संख्या झन्डै तीन गुणाले बढाएर ९२४ पुर्याइएको छ । अनुगमनका क्रममा आचारसंहिता तथा समय पालना नगर्ने १० हजार २६८ जना, तोकिएको पोशाकमा उपस्थित नभएका ६४५ जना र आफ्नो कार्यकक्षमा नभेटिएका ९१ जना गरी कुल ११ हजार चार जना कर्मचारीले अनुशासन उल्लंघन गरेको पाइएको केन्द्रले जनाएको छ ।
केन्द्रले अनुशासन उल्लंघन गर्ने सबै कर्मचारीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
सरकारी सेवालाई नागरिकमैत्री, अनुशासित र मर्यादित बनाउन केन्द्रले अनुगमन तथा उजुरी सुनुवाइलाई थप प्रभावकारी बनाउँदै लगेको जनाएको छ । सरकारी निकायमा भ्रष्टाचार भएको, कर्मचारीले आचारसंहिता पालना नगरेको वा कसैको सम्पत्ति शंकास्पद रहेको सूचना राष्ट्रिय सतर्कता केन्द्रको हटलाइन नम्बर ०१४२००३४५ मा फोन गरी जानकारी गराउन सकिने व्यवस्था गरिएको छ ।











