काठमाडाैँ । श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बूले सङ्खुवासभा र उदयपुर जिल्लाका विभिन्न क्षेत्रमा विद्युत तथा सञ्चार सेवाको पहुँच विस्तार र मर्मतका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद लिम्बूले अविरल वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिकामा विद्युत् प्रसारण लाइन र सञ्चार टावरहरूमा गम्भीर क्षति पुगेको बताउनु भयो ।
विद्युत र नेटवर्क अवरुद्ध हुँदा स्थानीय नागरिकहरू सोलार लाइटको भरमा बस्नुपरेको र सञ्चार सुविधा तथा सामाजिक सञ्जालबाट पूर्ण रूपमा वञ्चित हुनुपरेको उहाँले जानकारी दिनुभयो ।
उहाँले उदयपुर जिल्लाका कतिपय दुर्गम क्षेत्रमा हालसम्म राष्ट्रिय प्रसारण लाइनको पहुँच पुग्न नसकेको विषयमा सदनको ध्यानाकर्षण गराउनु भयो । सांसद लिम्बूकाअनुसार उदयपुरको लिम्चुबुङ गाउँपालिका वडा नं. ५ अन्तर्गतका साप्ला र दगला गाउँ तथा ताप्ली गाउँपालिका वडा नं. १ का गुराँसे, जुके, फलाँटे र चालाङ्बेतिनी गाउँमा अहिलेसम्म विद्युत सेवा उपलब्ध हुन सकेको छैन ।
विद्युत र सञ्चारजस्ता आधारभुत आवश्यकताबाट नागरिकहरू वञ्चित हुनुपरेको उल्लेख गर्दै सांसद लिम्बूले यी समस्याहरूको यथाशीघ्र समाधान गर्न स्थानीय र सङ्घीय सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।











