१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी



अ+ अ-

काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले गुरही पर्व प्रकृति संरक्षण, जैविक विविधता र वातावरणीय सन्तुलनसहित थारू समुदायको मौलिक ज्ञान, चेतना र सम्मानको प्रतीकका रूपमा रहेको बताउनुभएको छ ।

उहाँले गुरही पर्व केवल सांस्कृतिक परम्परा मात्र नभई थारू समुदायको प्रकृतिसँगको गहिरो सम्बन्ध र पारिस्थितिक प्रणालीको सन्तुलनप्रतिको चेतनालाई प्रतिबिम्बित गर्ने उल्लेख गर्नुभयो ।

थारू समुदायको प्रमुख शक्ति एकता, मौलिक संस्कृति, परम्परा र सामूहिक भावना भएको बताउँदै उहाँले अस्वस्थ प्रतिस्पर्धाभन्दा सहकार्य र सहअस्तित्व तथा विभाजनभन्दा एकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

समुदायको नेतृत्व तथा संस्थामा नयाँ पुस्ताको सहभागिता बढाउनुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री चौधरीले युवालाई अवसर दिनु नेतृत्व हस्तान्तरण मात्र नभई संस्कृति, ज्ञान, अनुभव र पहिचानलाई पुस्तौँसम्म संरक्षण गर्ने आधार तयार गर्नु भएको बताउनुभयो ।

उहाँले थारू समुदायको इतिहास, भाषा, संस्कृति, परम्परा, कला, कृषि प्रणाली तथा प्रकृतिसँगको सम्बन्धलाई अध्ययन, अनुसन्धान र दस्ताबेजीकरण गरी नयाँ पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

“अरूले हाम्रो इतिहास लेखिदिने प्रतीक्षा गर्ने होइन, हामी आफैँले आफ्नो इतिहास, पहिचान र योगदानलाई तथ्य र प्रमाणसहित स्थापित गर्ने समय आएको छ”, मन्त्री चौधरीले भन्नुभयो ।

उहाँले व्यक्तिगत धारणा र चियोचर्चाभन्दा माथि उठेर तथ्य, अध्ययन, संवाद र सहमतिमा आधारित निर्णय गर्ने संस्कार विकास गर्नुपर्ने धारणा राख्नुभयो । मतभिन्नता स्वाभाविक भए पनि नकारात्मक मतभिन्नता भने सिर्जना गर्न नहुने उहाँको भनाइ छ ।

गुरही पर्वले थारू समुदायको एकता, मौलिकता, अधिकार, समृद्धि र उज्ज्वल भविष्यका लागि थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उहाँले पर्वका अवसरमा सम्पूर्ण थारू समुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । रासस