३० श्रावण २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुँला पर्व : धर्म, संस्कृति र पुस्तान्तरणको जीवन्त उत्सव-फोटो फिचर



अ+ अ-

काठमाडौँ । नेवार समुदायको धार्मिक, सांस्कृतिक तथा सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको गुँला पर्व सुरु भएसँगै काठमाडौँ उपत्यकाका बौद्ध विहार तथा चैत्यहरूमा बिहानैदेखि चहलपहल बढेको छ। श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने यस पर्वमा पछिल्लो समय नव पुस्ताको सक्रिय सहभागिता पनि बढ्दै गएको छ।

गुँला पर्वका अवसरमा बिहान झिसमिसे नहुँदै स्वयम्भू महाचैत्य परिसर धिमे, बाँसुरी, पछिमा लगायतका परम्परागत बाजाको धुनले गुञ्जायमान हुने गर्दछ। परम्परागत बाजा बजाउँदै राजधानीका विभिन्न स्थानबाट भक्तजन स्वयम्भू पुग्ने र चैत्यको परिक्रमा गर्ने गर्दछन्।

विशेषगरी नव पुस्ताका युवायुवती बिहानै स्वयम्भू पुगेर बाजागाजासहित चैत्यको परिक्रमा गर्ने, पूजा–आराधना गर्ने र आफ्ना पुर्खाले सुरु गरेको परम्परालाई निरन्तरता दिने अभियानमा सहभागी भइरहेका छन्। शनिबारका दिन भने सहभागीको सङ्ख्या अझ बढ्ने गर्दछ।

काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा विशेष रूपमा मनाइने गुँला पर्वलाई धर्म, कर्म र सदाचारमार्फत जीवनलाई अनुशासित बनाउने पर्वका रूपमा लिइन्छ। नेपाल संवत्अनुसार दशौँ महिनालाई ‘गुँला’ भनिन्छ।

‘गुँ’को अर्थ गुण गर्नु, राम्रो तथा गुनिलो काम गर्नु र अरूको उपकार गर्नु भन्ने बुझिन्छ। त्यसैले यस महिनामा जीवनलाई राम्रो बनाउने विभिन्न नियम पालना गर्ने परम्परा छ। अग्लो खाटमा नसुत्ने, मनोरञ्जनमा नलाग्ने, समयमा भोजन गर्ने तथा आफ्नो क्षमताअनुसार मनदेखि दान गर्ने चलनसमेत यस पर्वसँग जोडिएको छ।

गुँला अवधिभर वर्षभरि दिवङ्गत भएका आफन्त तथा परिवारजनको स्मरणमा पनि विभिन्न धार्मिक गतिविधि गरिन्छ। श्रृङ्गभेदी, अर्थात् भैँसीको सिङबाट बनाइएको परम्परागत बाजा बजाउँदै स्वयम्भू पुग्ने भक्तजनको सङ्ख्या पनि उल्लेख्य हुन्छ।

वर्षायाममा रोगव्याधिको जोखिम बढ्ने भएकाले यस समयमा मन्दिर तथा चैत्यको परिक्रमा गरी प्रार्थना गर्दा शरीर र मन स्वस्थ रहने धार्मिक विश्वाससमेत रहिआएको छ।

गुँला पर्वसँग सम्बन्धित विभिन्न मौलिक बाजा, पूजा तथा संस्कारको संरक्षण भने अहिले चुनौतीपूर्ण बन्दै गएको छ। विशेषगरी केपु बाजाको पूजा–आराधना गर्ने परम्परा जनशक्ति अभावका कारण पछिल्लो समय लोप हुने अवस्थामा पुगेको संस्कृतिकर्मीहरू बताउँछन्।

यस्तो अवस्थामा नयाँ पुस्ताको सहभागिताले गुँला पर्वलाई केवल धार्मिक अनुष्ठानका रूपमा मात्र नभई जीवित सांस्कृतिक सम्पदा संरक्षणको अभियानका रूपमा अघि बढाउन सहयोग पुर्‍याएको छ। बिहानको झिसमिसे उज्यालोसँगै स्वयम्भूमा गुञ्जिने धिमे र बाँसुरीका धुनले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको नेवार समुदायको मौलिक परम्परा अझै जीवित रहेको सन्देश दिइरहेको छ।

फोटो- राजबहादुर शाही ठकुरी