२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

गुँला पर्व : धर्म, संस्कृति र पुस्तान्तरणको जीवन्त उत्सव-फोटो फिचर

गुँला पर्व : धर्म, संस्कृति र पुस्तान्तरणको जीवन्त उत्सव-फोटो फिचर
अ अ+ अ-

काठमाडौँ । नेवार समुदायको धार्मिक, सांस्कृतिक तथा सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको गुँला पर्व सुरु भएसँगै काठमाडौँ उपत्यकाका बौद्ध विहार तथा चैत्यहरूमा बिहानैदेखि चहलपहल बढेको छ। श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने यस पर्वमा पछिल्लो समय नव पुस्ताको सक्रिय सहभागिता पनि बढ्दै गएको छ।

गुँला पर्वका अवसरमा बिहान झिसमिसे नहुँदै स्वयम्भू महाचैत्य परिसर धिमे, बाँसुरी, पछिमा लगायतका परम्परागत बाजाको धुनले गुञ्जायमान हुने गर्दछ। परम्परागत बाजा बजाउँदै राजधानीका विभिन्न स्थानबाट भक्तजन स्वयम्भू पुग्ने र चैत्यको परिक्रमा गर्ने गर्दछन्।

विशेषगरी नव पुस्ताका युवायुवती बिहानै स्वयम्भू पुगेर बाजागाजासहित चैत्यको परिक्रमा गर्ने, पूजा–आराधना गर्ने र आफ्ना पुर्खाले सुरु गरेको परम्परालाई निरन्तरता दिने अभियानमा सहभागी भइरहेका छन्। शनिबारका दिन भने सहभागीको सङ्ख्या अझ बढ्ने गर्दछ।

काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा विशेष रूपमा मनाइने गुँला पर्वलाई धर्म, कर्म र सदाचारमार्फत जीवनलाई अनुशासित बनाउने पर्वका रूपमा लिइन्छ। नेपाल संवत्अनुसार दशौँ महिनालाई ‘गुँला’ भनिन्छ।

‘गुँ’को अर्थ गुण गर्नु, राम्रो तथा गुनिलो काम गर्नु र अरूको उपकार गर्नु भन्ने बुझिन्छ। त्यसैले यस महिनामा जीवनलाई राम्रो बनाउने विभिन्न नियम पालना गर्ने परम्परा छ। अग्लो खाटमा नसुत्ने, मनोरञ्जनमा नलाग्ने, समयमा भोजन गर्ने तथा आफ्नो क्षमताअनुसार मनदेखि दान गर्ने चलनसमेत यस पर्वसँग जोडिएको छ।

गुँला अवधिभर वर्षभरि दिवङ्गत भएका आफन्त तथा परिवारजनको स्मरणमा पनि विभिन्न धार्मिक गतिविधि गरिन्छ। श्रृङ्गभेदी, अर्थात् भैँसीको सिङबाट बनाइएको परम्परागत बाजा बजाउँदै स्वयम्भू पुग्ने भक्तजनको सङ्ख्या पनि उल्लेख्य हुन्छ।

वर्षायाममा रोगव्याधिको जोखिम बढ्ने भएकाले यस समयमा मन्दिर तथा चैत्यको परिक्रमा गरी प्रार्थना गर्दा शरीर र मन स्वस्थ रहने धार्मिक विश्वाससमेत रहिआएको छ।

गुँला पर्वसँग सम्बन्धित विभिन्न मौलिक बाजा, पूजा तथा संस्कारको संरक्षण भने अहिले चुनौतीपूर्ण बन्दै गएको छ। विशेषगरी केपु बाजाको पूजा–आराधना गर्ने परम्परा जनशक्ति अभावका कारण पछिल्लो समय लोप हुने अवस्थामा पुगेको संस्कृतिकर्मीहरू बताउँछन्।

यस्तो अवस्थामा नयाँ पुस्ताको सहभागिताले गुँला पर्वलाई केवल धार्मिक अनुष्ठानका रूपमा मात्र नभई जीवित सांस्कृतिक सम्पदा संरक्षणको अभियानका रूपमा अघि बढाउन सहयोग पुर्‍याएको छ। बिहानको झिसमिसे उज्यालोसँगै स्वयम्भूमा गुञ्जिने धिमे र बाँसुरीका धुनले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको नेवार समुदायको मौलिक परम्परा अझै जीवित रहेको सन्देश दिइरहेको छ।

फोटो- राजबहादुर शाही ठकुरी