काठमाडौँ। नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्ने वैधानिक अधिकार १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मात्र भएको स्पष्ट पार्नुभएको छ ।
संस्थापन इतर पक्षबाट डा. शशांक कोईरालाको संयोजकत्वमा गठित मूल आयोजक कमिटीद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेता निधीले १५ औं महाधिवेशनलाई सशक्त, सार्थक र सफलतापूर्वक सम्पन्न गर्नु नै अहिलेको मुख्य प्राथमिकता र कर्तव्य भएको उल्लेख गर्नुभयो ।
पार्टीको विधान र स्थापित परम्पराअनुसार १४ औं महाधिवेशनबाट निर्वाचित सभापति र कार्यसमितिले नै आगामी महाधिवेशनको नेतृत्व गर्नुपर्ने उहाँको तर्क छ । निधीले अराजक वा अवैध रूपमा गरिने कुनैपनि गतिविधिले पार्टीको आधिकारिकता नपाउने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘१४ औं महाधिवेशनबाट १५ औं महाधिवेशनमा जानु एक स्वाभाविक प्रक्रिया र निरन्तरता हो । धोखाधडी वा कब्जा गरेर बनाइएका कुनैपनि विशेष महाधिवेशन वा कमिटीलाई १५ औं महाधिवेशन गराउने कुनै अधिकार छैन ।’
भेलामा सहभागी कार्यकर्ताहरूलाई यो सन्देश देशभर लैजान आग्रह गर्दै निधीले निर्वाचित सभापति र कार्यसमितिलाई नै स्वाभाविक ढङ्गले १५ औं महाधिवेशनसम्म पु¥याउने काममा लाग्न निर्देशन दिनुभयो । –न्युज एजेन्सी नेपाल











