२७ श्रावण २०८३, बुधबार
,
Latest
शासनसँग प्रश्न गर्ने नागरिकको सामर्थले नै लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति पौडेल सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः परराष्ट्रमन्त्री खनाल राष्ट्रिय सतर्कता केन्द्रद्वारा गत आवमा ७२ प्रतिशत उजुरी फर्छ्योट, सेवा सन्तुष्टि मापनका लागि क्युआर कोड… सेती पुल निर्माणले गति लियो ‘प्रोबोनो’ कानूनी सेवालाई प्रवद्र्धन गर्न कानून व्यवासीको रेकर्ड प्रणाली लागू गर्ने तयारीमा छौँः मन्त्री गौतम राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष, ७२ प्रतिशत उजुरी फर्छ्योट बुद्ध जन्मभूमिबारे दलाई लामाको अभिव्यक्तिप्रति विश्लेषक गौतमको कडा आपत्ति, ‘तत्काल सच्याएर माफी माग्नुपर्छ’ एनआरएनएको १५ बुँदे सङ्कल्पसहित ‘डब्लिन घोषणापत्र’ जारी अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति प्राकृतिक वनस्पति घट्दा ब्राजिलमा एल निनोको प्रभाव बढ्ने जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति



अ+ अ-

जेनेभा। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका खोप कार्यक्रममा व्यापक परिवर्तन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास दशकौँदेखिको वैज्ञानिक प्रमाणविपरीत रहेको जनाएको छ ।

राष्ट्रपति ट्रम्पले सोमबार विद्यालयमा अनिवार्य गरिएका खोपसम्बन्धी नियमको पुनरावलोकन गर्न आदेश दिनुभएको थियो । उहाँले दादुरा, मम्प्स र रुबेला (एमएमआर) विरुद्धको संयुक्त खोपलाई तीन छुट्टाछुट्टै मात्रामा दिनुपर्ने मागसमेत दोहोर्याउनुभएको थियो ।

अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जुनियरले लामो समयदेखि एमएमआर खोप र अटिजमबीच सम्बन्ध रहेको दाबी गर्दै आउनुभएको छ । वैज्ञानिक अनुसन्धानले भने खोप र अटिजमबीच कुनै सम्बन्ध रहेको पुष्टि गरेको छैन ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले एमएमआरलगायत खोप सुरक्षित रहेको र त्यसले अटिजम नगराउने वैज्ञानिक प्रमाण स्पष्ट रहेको बताउनुभयो ।

“खोपसम्बन्धी नीति राजनीतिक प्रभावबाट नभई उपलब्ध उत्कृष्ट वैज्ञानिक प्रमाणको गहन, स्वतन्त्र र पारदर्शी समीक्षामा आधारित हुनुपर्छ,” उहाँले सामाजिक सञ्जाल ‘एक्स’मा लेख्नुभएको छ ।

अमेरिकी खोप नीतिमा हालै गरिएका परिवर्तन दशकौँदेखिको प्रमाणसँग मेल नखाएकोमा डब्ल्यूएचओ चिन्तित रहेको उहाँले बताउनुभयो । उक्त प्रमाणले बालबालिका कुन समयमा विभिन्न रोगको बढी जोखिममा हुन्छन् भन्ने देखाउने उहाँको भनाइ छ ।

टेड्रोसका अनुसार बालबालिकालाई खोपबाट बलियो सुरक्षा प्रदान गर्न आवश्यक मात्रा र एकैपटक दिन मिल्ने खोपबारे वैज्ञानिक प्रमाणलाई ध्यान दिनुपर्छ । विश्वभरबाट नयाँ तथ्याङ्क प्राप्त हुँदै गएसँगै खोपसम्बन्धी प्रमाणको निरन्तर समीक्षा गरिने उहाँले बताउनुभयो ।

खोप दिन अनावश्यक ढिलाइ गर्ने वा विभिन्न खोपको मात्रा छुट्टाछुट्टै दिने कार्यले खोपलाई सुरक्षित नबनाउने भन्दै उहाँले यसबाट बालबालिका रोगको जोखिममा पर्न सक्ने चेतावनी दिनुभयो ।

केनेडीले दशकौँदेखि प्रयोग हुँदै आएका खोपसहित विभिन्न खोपको व्यापक समीक्षा अघि बढाउनुभएको छ । उहाँले बालबालिकाको खोप तालिकामा परिवर्तन गर्नुका साथै नयाँ खोप विकासका लागि दिइने बजेटमा कटौती गर्नुभएको छ । यी कदमको अमेरिकी तथा अन्तरराष्ट्रिय चिकित्सा र वैज्ञानिक समुदायले आलोचना गरेको छ ।

यस वर्षको सुरुमा अमेरिकी अदालतले केनेडीले अघि बढाएका केही खोप नीतिसम्बन्धी परिवर्तन रोकिदिएको थियो । (रासस/एएफपी)




भर्खरै