२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु



अ+ अ-

साना। यमनको उत्तरपूर्वी तेलसम्पन्न मारिब प्रान्तमा सरकारी सेना र हुथी विद्रोहीबीच भएको झडपमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । मृतकमध्ये आठ जना हुथी लडाकु र तीन जना सरकारी सैनिक रहेको स्थानीय सैन्य अधिकारीले बताएका छन् ।

नाम नखुलाउने सर्तमा ती अधिकारीका अनुसार मारिब बाँधनजिकैको जबल अल–बाल्क मोर्चामा भएको झडपमा दुवै पक्षका कैयौँ लडाकु घाइते भएका छन् । उक्त पहाडी क्षेत्र सरकारी नियन्त्रणमा रहेको मारिब सहरनजिकै पर्छ ।

सरकारी सेनाले मारिब सहरको पश्चिम र दक्षिणमा रहेका हुथीका अखडालाई लक्षित गरी आक्रमण गरेपछि दुवै पक्षबीच भीषण गोली हानाहान भएको अधिकारीले बताउनुभयो । प्रान्तका विभिन्न क्षेत्रमा केही दिनदेखि जारी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणपछि स्थलगत लडाइँसमेत तीव्र भएको हो ।

हुथी समूहले घटनाबारे तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । पछिल्ला सातामा हुथीहरूले यमनमा सरकारी नियन्त्रणमा रहेका क्षेत्र तथा यमनी सरकारको प्रमुख समर्थक साउदी अरबका विभिन्न स्थानमा क्षेप्यास्त्र र ड्रोन आक्रमण तीव्र पारेका छन् । समूहले गत जुलाईमा साउदी–सम्बद्ध जहाजको आवागमनमा समुद्री प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

त्यसयता हुथीहरूले लाल सागरमा साउदी–सम्बद्ध तेल ट्याङ्कर तथा साउदी अरबका ऊर्जा संरचनामा आक्रमण गरेको दाबी गर्दै आएका छन् । सरकारी सेनामाथिको आक्रमणलाई साउदी समर्थित सैन्य परिचालनको जवाफ तथा साउदी भूभागमा गरिएका आक्रमणलाई आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमाथिको नाकाबन्दीको प्रतिकारका रूपमा हुथीहरूले व्याख्या गरेका छन् ।

सन् २०१४ को अन्त्यतिर हुथीहरूले राजधानी साना लगायत उत्तरी यमनका अधिकांश भूभाग कब्जा गरेपछि देश द्वन्द्वमा फसेको हो । अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारको समर्थनमा सन् २०१५ मा साउदी अरबको नेतृत्वमा गठबन्धनले सैन्य हस्तक्षेप गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा अप्रिल २०२२ मा युद्धविराम लागू भएको थियो । औपचारिक रूपमा त्यसको अवधि छ महिनापछि समाप्त भए पनि पछिल्लो समयसम्म कमजोर युद्धविराम कायम रहँदा ठूला स्थलगत भिडन्तमा कमी आएको थियो । पछिल्ला सातामा भने यमनमा तनाव पुनः बढेको छ । (रासस/सिन्ह्वा)