२४ श्रावण २०८३, आईतवार
,
Latest
बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने धनुषा, महोत्तरी र सर्लाहीका ग्रामीण क्षेत्रका भौतिक पूर्वाधार निर्माण प्राथमिकतामा ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन समावेशिता नारामा सिमित नभई राज्यका नीति र स्रोतमा देखिनुपर्छः उपराष्ट्रपति यादव आदिवासी जनजातिको ज्ञान र सीपलाई विकासको मोडल बनाउनुपर्छः कार्यवाहक प्रमुख डंगोल सरकारको नेतृत्व गर्नेबाट नै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको छः भीष्मराज आङ्देम्बे बाँकेको भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको नेतृत्व गर्नेबाट नै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको छः भीष्मराज आङ्देम्बे



अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको नेतृत्व गर्नेहरूबाटै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको आरोप लगाउनुभएको छ ।

३२औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै आङ्देम्बेले संविधानको रक्षा गर्ने जिम्मेवारी पाएको कार्यकारी निकायबाटै संविधानमा सुनिश्चित गरिएका उपलब्धिमाथि पटक–पटक प्रश्न उठाइनु गम्भीर विषय भएको बताउनुभयो ।

उहाँले आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम, थारू तथा अन्य सीमान्तकृत समुदायका पहिचान, अधिकार र प्रतिनिधित्व संविधानमा लिपिबद्ध हुनु कसैको निगाहबाट प्राप्त उपलब्धि नभएको स्पष्ट पार्नुभयो । यी अधिकार प्राप्त गर्न विगतका पुस्ताले लामो संघर्ष गरेको र त्यस क्रममा ठूलो त्याग तथा बलिदान भएको उहाँको भनाइ थियो ।

“हामीले प्राप्त गरेको उपलब्धिमाथि जानेर हो या नजानेर घोचपेच भइराख्दा शंकाको कालो बादल हटिसक्यो भनेर ढुक्क भएर बस्ने अवस्था छैन,” उहाँले भन्नुभयो ।

आङ्देम्बेले दोस्रो जनआन्दोलनबाट प्राप्त उपलब्धिमाथि अहिले पनि प्रश्न उठिरहेको बताउँदै धर्मनिरपेक्षता, संघीयता, प्रदेश संरचना तथा समानुपातिक समावेशी प्रतिनिधित्व संविधानका महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो । यी विषयमाथि प्रश्न उठाउने प्रयास भइरहेको भन्दै उहाँले त्यसप्रति सचेत हुन आदिवासी जनजाति समुदायलगायत सम्बन्धित सबैलाई आग्रह गर्नुभयो ।

उहाँले अधिकार संरक्षणका विषयमा सामाजिक सञ्जालमा आवाज उठाउने तर आवश्यक समयमा समुदायको एकता र शक्ति प्रदर्शन कमजोर हुने गरेको भन्दै असन्तुष्टि जनाउनुभयो । अधिकारको संरक्षणका लागि समुदाय आफैँ सचेत, संगठित र एकताबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

आङ्देम्बेले २०७२ सालमा संविधान जारी हुँदा देशमा एकातर्फ दीपावली र अर्कोतर्फ संविधान जलाउने अवस्था रहेको स्मरण गर्दै संविधानप्रति रहेका असन्तुष्टिलाई संवैधानिक अभ्यास र संशोधनमार्फत सम्बोधन गर्ने तत्कालीन राजनीतिक प्रतिबद्धतालाई अहिले बिर्सन नहुने बताउनुभयो ।

संविधान जारी भएको करिब १० वर्ष पुगिसकेको अवस्थामा संशोधनको बहस अघि बढिरहेकाले विगतमा गरिएका प्रतिबद्धतालाई सम्बोधन गर्नुपर्ने उहाँको भनाइ छ । संविधान संशोधन गर्दा आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम, थारू, अल्पसंख्यक तथा सीमान्तकृत समुदायसँग गरिएका प्रतिबद्धता समेटिनुपर्ने उहाँले बताउनुभयो ।

सरकारले संविधान संशोधनका लागि गठन गरेको समितिप्रति नेपाली कांग्रेसको केही ‘रिजर्भेसन’ रहेको उल्लेख गर्दै उहाँले त्यसको विश्वसनीयताबारे पनि पार्टीले प्रश्न उठाएको बताउनुभयो । साथै, आदिवासी जनजाति समुदायले समेत संविधान संशोधनको प्रक्रियालाई गम्भीरतापूर्वक नियाल्नुपर्ने उहाँको भनाइ थियो ।

संविधानबाट प्राप्त अधिकारको संरक्षणका लागि नेपाली कांग्रेसले सरकारलाई संसद् र सडक दुवैबाट खबरदारी गर्ने आङ्देम्बेले बताउनुभयो । संविधानप्रदत्त अधिकार सुनिश्चित गर्न कांग्रेस निरन्तर आदिवासी जनजाति समुदायसँगै रहने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।