काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले मुलुकमा देखिएका विभिन्न विवाद र धार्मिक तनावको दीर्घकालीन समाधानका लागि नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउनुको विकल्प नभएको बताउनुभएको छ ।
बुधवार बसेको पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङदेनले वर्तमान संविधान र यसले अख्तियार गरेका कतिपय नीतिहरू नै अहिलेको समस्याको जड भएको दाबी गर्नुभएको हो ।
उहाँले २०६२÷६३ को आन्दोलनपछि मुलुकमा जबरजस्ती भित्र्याइएका कतिपय अवधारणाहरूलाई सच्याउनुपर्ने बेला आएको उल्लेख गर्दै राप्रपाले सडक र संसद दुवै ठाउँबाट हिन्दु राष्ट्रको मुद्दालाई सशक्त ढङ्गले उठाउने बताउनु भयो ।
सुनसरीमा हालै भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष लिङदेनले उक्त घटनाको निन्दा र भत्र्सना गर्नुभयो । नेपाल बहुभाषिक, बहुसांस्कृतिक र धार्मिक सहिष्णुताको अनुपम नमूना भएको स्मरण गराउँदै उहाँले धर्मको नाममा भइरहेका विवादहरूले सामाजिक सद्भावमा खलल पु¥याएको बताउनु भयो ।
प्रदेश सरकार गठनको सन्दर्भमा राप्रपाको धारणा स्पष्ट पार्दै अध्यक्ष लिङदेनले राप्रपाले कुनै विशेष परिस्थिति आएको खण्डमा उचित निर्णय लिने बताउनु भयो ।











