काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गअन्तर्गत फिक्कल गाउँपालिका–२ नवलपुरमा बस र कार एकापसमा ठोक्किँदा कार सुकोशी नदीमा खसेको छ। दुर्घटनापछि कारमा सवार तीन जना बेपत्ता भएका छन्।
प्रहरीका अनुसार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट खोटाङ हुँदै खुर्कोटतर्फ आउँदै गरेको कारलाई ठक्कर दिएको थियो। ठक्करको प्रभावले कार सडकबाट तल सुकोशी नदीमा खसेको हो।
बेपत्ता हुनेहरूमा कार चालक, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी गणेश थापा तथा कारमा रहेका एक जना हेल्पर रहेका छन्। चालक र हेल्परको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरी र स्थानीयवासीको टोलीले सुकोशी नदीमा बेपत्ताको खोजी तथा उद्धार कार्य जारी राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











