काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, घाइतेलाई उपचार तथा दोषीमाथि कानुनबमोजिम कारबाही हुने प्रतिबद्धता जनाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले सुनसरीमा भएको घटनाले आफू प्रधानमन्त्रीका रूपमा मात्र नभई एक नागरिकका रूपमा पनि दुःखी भएको बताएका छन्। उनले घटनामा ज्यान गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
प्रधानमन्त्री शाहले सरकारले मृतकका परिवारलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउने तथा घटनाका दोषीलाई कानुनअनुसार कारबाही गर्ने विश्वास दिलाएका छन्। सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान जानु कुनै पनि अवस्थामा सामान्य घटना हुन नसक्ने उल्लेख गर्दै उनले यसबारे अनुसन्धान सुरु भइसकेको र कानुनी प्रक्रियाअनुसार आवश्यक कारबाही गरिने बताएका छन्।
घटनाबाट पाठ सिक्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारले तत्काल आवश्यक निर्णय र सुधारका कदम अघि बढाइरहेको उनले बताएका छन्। सम्पूर्ण घटनाको सरकारले गम्भीर समीक्षा गरिरहेको उल्लेख गर्दै नागरिकले सरकारका जिम्मेवार कदमको अनुभूति गर्ने विश्वास पनि व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले मृतकका परिवार तथा घाइतेलाई न्यायको अनुभूति गराउन सरकारले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्ने प्रतिबद्धता जनाउँदै त्यस अवधिसम्म संयम अपनाउन सबैसँग आग्रह गरेका छन्। उनले आक्रोश, बदलाको भावना र उत्तेजनामा नबग्न तथा कुनै पनि उक्साहटमा नलाग्न आग्रह गर्दै सामाजिक सद्भाव, प्रेम, सम्मान र आपसी विश्वास कायम राख्न सबैलाई अपिल गरेका छन्।
उनले मान्छेको पहिलो धर्म मान्छे जोगाउनु हो भन्दै सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, दोषीलाई कारबाही गर्नु र पीडितलाई न्याय तथा क्षतिपूर्ति उपलब्ध गराउनु रहेको उल्लेख गरेका छन्।










