११ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवानगञ्ज घटनामा मृतकप्रति मुख्यमन्त्री कार्कीको श्रद्धाञ्जली, सामाजिक सद्भाव कायम राख्न आग्रह



अ+ अ-

काठमाडौं ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा आइतबार राति भएको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

सोमबार जारी विज्ञप्तिमार्फत मुख्यमन्त्री कार्कीले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा सम्बन्धित निकायलाई आवश्यक सहयोग र समन्वय गर्न पनि आग्रह गरेका छन्।

मुख्यमन्त्री कार्कीले संवेदनशील परिस्थितिमा नागरिकलाई संयमित रहन, अपुष्ट सूचना वा अफवाहको पछि नलाग्न तथा सामाजिक सद्भाव, आपसी विश्वास र भाइचारालाई थप सुदृढ बनाउन आह्वान गरेका छन्। उनले नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिलाई सम्मान गर्दै एकताबद्ध रूपमा अघि बढ्दै आएको उल्लेख गर्दै घटनालाई उत्तेजित नबनाई सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै सरोकारवाला, नागरिक समाज, राजनीतिक दल, जनप्रतिनिधि र सञ्चारकर्मीलाई अनुरोध गरेका छन्।

विज्ञप्तिमा कोशी प्रदेश सरकार पीडित परिवार तथा घाइतेहरूको साथमा रहेको विश्वास दिलाउँदै आवश्यक समन्वय र सहयोगका लागि प्रतिबद्ध रहेको जनाइएको छ। साथै मुख्यमन्त्री कार्कीले नेपाल सरकारलाई अविलम्ब प्रभावकारी सुरक्षा व्यवस्था मिलाई जनताको जिउधनको रक्षा गर्न आग्रह गरेका छन्।