काठमाडौं । सुनसरीको देवानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित सुरक्षा निकायका प्रमुखहरूको व्यापक सरुवा तथा फिर्ता गर्ने निर्णय गरेको छ।
गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाउँदै उहाँको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याललाई खटाएको छ।
त्यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ। उहाँको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइने भएको छ।
यस्तै, सशस्त्र प्रहरी बल नेपाल, कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उहाँको स्थानमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय, काठमाडौंमा कार्यरत डीएसपी मदन नाथलाई खटाइएको छ।
आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो। घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी कुल २४ जना घाइते भएका छन्।
घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।
यसैबीच, घटनापछि थप तनाव सिर्जना हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।











