३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार

कलामा स्वतन्त्रता चाहिन्छ भन्नेहरुले सामाजिक उत्तरदायित्वलाई किन बिर्सिरहेका छन् ?

मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार
अ+ अ-

सुरुमै भनुँ म पेशाले शिक्षक हुँ ।

क्याम्पस र विद्यालयमा म सामाजिक अध्ययन पढाउँछु ।

असार ३० गते मंगलबार युट्युवमा एउटा गीत आयो । जसको अहिले निकै बिरोध भइरहेको छ । नहोस् पनि किन ?  कलाशून्य र भद्दा त्यस गीतले शिक्षकजस्तो सम्मानित पेशाको अपमान मात्र गरेको छैन बालमनोविज्ञानमा गम्भीर र नकारात्मक असर पुर्याएको छ ।

मैले चर्चा गर्न खोजेको दुर्गेश थापा र बबिना किराँतीले गाएको गीत मास्टर्नीको हो ।

दुर्गेश थापाको नयाँ गीत मास्टर्नी सुनेँ पछि हेरेपछि मलाई भाउन्न भएको छ । यो समाज कस्ता मानिसहरुले भरिएको छ ? भ्युज बढाउने नाममा हामी कहाँसम्म गिर्न सक्छौं ? कलामा स्वतन्त्रता चाहिन्छ भन्नेहरुले सामाजिक उत्तरदायित्वलाई किन बिर्सिरहेका छन् ?

सामान्यतया मनोरञ्जन र आनन्दका लागि गीत बन्ने गरेका छन् । मानिसलाई थकाइ मार्न, खुसी साट्न वा दुःख भुलाउन गीतले ठूलो भूमिका खेल्छ । गीत भावनाको अभिव्यक्ति हो । शब्दमा भन्न नसकिएका प्रेम, वेदना, आक्रोश वा देशभक्तिका कुराहरू गीतको माध्यमबाट सजिलै व्यक्त गर्न सकिन्छ । त्यसो त सांस्कृतिक पहिचानका लागि पनि गीत प्रभावकारी मानिन्छ । परम्परागत रीतिरिवाज, चाडपर्व र लोकसंस्कृति जोगाइराख्न गीतको रचना हुन्छ । गीतको महत्वपूर्ण कुरा सामाजिक जागरणमा यसको निकै ठूलो भूमिका रहन्छ । समाजमा भएका विकृति, अन्याय र चेतना फैलाउने खालका गीतहरूले मानिसको सोचाइमा परिवर्तन ल्याउन मद्दत गर्छ । र पछिल्लो समय व्यावसायिकता र आयआर्जनको महत्वपूर्ण माध्यम गीत संगीत बनेको छ । धेरै सर्जक, गायक र संगीतकारहरूले यसलाई पेसा वा व्यवसायको रूपमा पनि अपनाएका छन् ।

आजको सन्दर्भ हो । चलचित्र ‘मास्टर्नी’ को प्रमोसनल गीतको । गीतमा प्रयोग भएका अमर्यादित शब्द र द्विअर्थी भावले सम्पूर्ण महिला शिक्षक वर्गको मानमर्दन गरेको छ। एक शिक्षिका हुनुको नाताले ‘मास्टर्नी’ गीतको भिडियो हेर्दा मलाई निकै लज्जाबोध भयो। ‘गुरुआमा’ जस्तो मर्यादित शब्दलाई यसरी सस्तो मनोरञ्जनका लागि प्रयोग गरिनु निन्दनीय छ।

हामीले विद्यालयमा विद्यार्थीलाई दिने संस्कार र मिडियामा देखाइने यस्ता सामग्रीले समाजमा पार्ने नकारात्मक प्रभावबारे गम्भीर समीक्षा गरिनु पर्छ । कला र मनोरञ्जनको नाममा पेसागत चरित्र हत्या गर्न पाइँदैन। यसले गुरु-शिष्य बीचको पवित्र सम्बन्धलाई बिगार्ने काम गरेको छ ।

द्धिअर्थी शब्दको प्रयोग भएको यस गीत गाउने गायक स्वंय विवादित छन् । उनका हरेक गीत विवादमा तानिने गरेका छन् । यस गीतको शब्द र संगीत दुर्गेशकै हो । गीतमा प्रियंका कार्की, आर्यन सिग्देल र आयुष्मान जोशीलगायतले अभिनय गरेका छन् ।

हुन त यो भदौ ५ गतेदेखि प्रदर्शनमा आउन लागेको मास्टर्नी फिल्मको प्रचारका लागि बनाइएको ‘प्रोमोसनल गीत’ हो । निर्माण पक्षका अनुसार यो गीत फिल्मभित्र समावेश हुने छैन । यो फिल्मको प्रचारका लागि विशेष रूपमा तयार गरिएको हो । जुन उद्देश्यका लागि गीत बनाइएको छ, त्यो भरपुर मात्रामा पूरा भएको छ । यसले विवाद जन्माएको छ, विवादकै कारण चर्चा पनि पाएको छ ।

तर यो गीत सुनिसकेपछि मलाई निकै नमज्जा लागेको छ । हामीकहाँ कलाको स्वतन्त्रता र सामाजिक जिम्मेवारीबीचको सीमाबारे बहस हुनु जरुरी छ भन्ने पनि लाग्यो ।

म आफै पनि कलाको स्वतन्त्रताको पक्षमा वकालत गर्ने मानिस हुँ । चलचित्रका नाममा होहल्ला सिर्जना गरेर हलमा दर्शकको भिड जम्मा पार्ने, अरुलाई मूर्ख बनाउने र त्यसबाट पैसा कमाउने रणनीतिको म सधैँ विपक्षमा छु । सिनेमा, गीत संगीतको प्रभाव समाजमा छिटो पर्ने भएकाले यसमा सरोकार राख्नेहरु बढि सम्वेदनशील हुनु जरुरी छ ।

मास्टर्नी गीतले व्यावसायिक रूपमा भ्युज त बटुलिरहेको छ । तर सामाजिक र सांस्कृतिक दृष्टिकोणबाट भने यसको तीव्र आलोचना भइरहेको छ । मैले त सुरुमै भने गीत हेरेर सुनेर मलाई भाउन्न भएको छ ।

१. पेसागत मर्यादामाथि प्रहार

समाजमा शिक्षक र शिक्षण पेसालाई अत्यन्तै सम्मानित र पवित्र मानिन्छ तर, यस गीतमा विद्यार्थी र शिक्षिकाबीचको सम्बन्धलाई अमर्यादित र कामुक ढङ्गले प्रस्तुत गरिएको छ । महिला शिक्षकहरूलाई लक्षित गरी राखिएका शब्द र दृश्यहरूले शिक्षण पेशामा रहेका महिलाहरुको सामाजिक प्रतिष्ठा र आत्मसम्मानमा आँच पुर्‍याएको देखिन्छ ।

२. द्विअर्थी शब्दको प्रयोग र शैक्षिक विम्बहरूको विकृतीकरण

गीतमा प्रयोग गरिएका कतिपय शब्दहरू ‘द्विअर्थी’ र भ्रामक छन् । विद्यालयमा सिकाइने आधारभूत अक्षर (क, ख, अ, आ) र गणितीय गुणन तालिका (जस्तै: ‘दुई एकान दुई, दुई दुना चार) लाई विकृत रूप दिएर सस्तो मनोरञ्जनको साधन बनाइएको छ । सर्जकले ‘म्याथ सिक्ने’ भनिएको दाबी गरे तापनि उच्चारणमा अश्लील विम्ब झल्कने गरी शब्द संयोजन गर्नु कलात्मकता नभई सस्तो लोकप्रियता कमाउने दाउपेच मात्र देखिन्छ ।

. भिडियोमा उच्छृङ्खलता

गीतको म्युजिक भिडियोमा प्रस्तुत पहिरन, शारीरिक हाउभाउ र नृत्यका स्टेपहरू विद्यालयको वातावरण सुहाउँदा छैनन् । भड्किला छन् । दुर्गेश थापाका गीतहरू बालबालिकाहरूमाझ बढी लोकप्रीय हुने गरेको विगतका अनुभवले यस्ता अश्लील र अमर्यादित सामग्रीले कलिला बालबालिकाहरूको मनोविज्ञानमा गम्भीर र नकारात्मक असर पुर्‍याउने देखिन्छ । भोलि विद्यालयमा बालबालिकाहरूले शिक्षिकाका अगाडि यस्तै गीत गाउँदा उत्पन्न हुने मानसिक तनाव र असुरक्षाप्रति निर्माण पक्ष बिलकुलै असंवेदनशील देखिएको छ ।

४. कलाको नाममा ‘भद्दा मजाक’

कला र सङ्गीत समाजको ऐना र चेतना फैलाउने माध्यम हुनुपर्छ । तर, पछिल्लो समय विवाद सिर्जना गरेरै गीत हिट बनाउने र युट्युबमा भ्युज बटुलेर पैसा कमाउने जुन प्रवृत्ति बढेको छ, ‘मास्टर्नी’ गीत त्यसैको एउटा कुरुप कडी हो । यसलाई कतैबाट पनि सिर्जनात्मक स्वतन्त्रता भन्न नमिल्ने र यो केवल एक ‘भद्दा मजाक’ सिवाय अरु केही होइन ।

गीत हटाउन माग

त्यसो त नेपाल शिक्षक महासंघले पनि गीतप्रति आपत्ति जनाउँदै यसको प्रचारप्रसार तत्काल रोक्न माग गरेको छ। महासंघको विज्ञप्तिमा भनिएको छ, ‘महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको त्यो गीतले शिक्षक र शिक्षण पेशाको गरिमामाथि गम्भीर प्रहार गरेको छ। त्यसैले उक्त गीतलाई तुरून्त बन्द गर्न तथा फिल्ममा प्रयोग नगर्न हामी सम्बन्धित पक्षसँग आग्रह गर्दछौं।’

शिक्षक तथा शिक्षण पेसाको मर्यादामाथि असर पर्ने दाबी गर्दै दुर्गेश थापा र प्रियंका कार्की अभिनीत चलचित्र ‘मास्टर्नी’ को प्रचारात्मक गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा समेत निवेदन परेको छ। तनहुँको व्यास नगरपालिका-११ स्थित बाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबाबु भट्टराईले मन्त्रालयमा लिखित उजुरी दिँदै उक्त गीतको प्रसारण तथा प्रचारमा रोक लगाउन माग गरेका हुन्। उजुरीमा चलचित्रको प्रचारका लागि सार्वजनिक गरिएको ‘ताराबाजी लैलै’ शीर्षकको गीतमा प्रयोग भएका केही शब्द तथा प्रस्तुतिले शिक्षक समुदाय, विशेष गरी महिला शिक्षकको सम्मान र समग्र शिक्षण पेसाको प्रतिष्ठामा नकारात्मक प्रभाव पार्ने उल्लेख गरिएको छ।

अन्त्यमा,

अभिव्यक्ति र सिर्जनाको स्वतन्त्रता सबै कलाकारलाई हुन्छ, तर त्यसले समाजका जिम्मेवार पेसा, वर्ग वा समुदायको गरिमालाई धुमिल बनाउने छुट दिँदैन । दुर्गेश थापाको ‘मास्टर्नी’ गीत मनोरञ्जनको कसीमा व्यावसायिक रूपमा सफल देखिए पनि सामाजिक उत्तरदायित्व, सांस्कृतिक चेतना र पेसागत मर्यादाको कसीमा पूर्ण रूपमा असफल र आलोच्य छ ।

मैले यति भनिरहँदा तपाईँलाई पनि यो गीत हेरुँ हेरुँ लागेको हुन सक्छ । गीत बनाउनेहरुले मेरो यहि भिडियोकै कारण पनि गीतको प्रचार भयो भन्न सक्छन् । हेर्ने नहेर्ने तपाईँको निर्णय हो । तर म यो र यस्ता गीतहरु पटक्कै रेकमेन्ड गर्दिनँ ।

लेखक पाण्डे अपी स्कुल धापासीमा अध्यापन गर्नुहुन्छ ।