काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उहाँहरूलाई नियुक्त गरिएको हो ।
नवनियुक्त अध्यक्षद्वयले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गर्नुभएको छ । दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले आजै पद तथा गोपनीयताको शपथसमेत लिनुभएको छ ।
नियुक्तपत्र प्रदान गर्नुहुँदै सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारीमा आउनुभएका दुवै संस्थाका अध्यक्षप्रति उच्च अपेक्षा रहेको बताउनु भयो । सिफारिस समितिले अन्य उम्मेदवारभन्दा न्यायपूर्ण, निष्पक्ष र परिणाममुखी ढङ्गले जिम्मेवारी निर्वाह गर्न सक्ने विश्वासका आधारमा उहाँहरूलाई छनोट गरेको उल्लेख गर्नुहुँदै सञ्चारमन्त्री तिमिल्सिनाले नियामक निकायहरूले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र प्रभावकारी बनाउन प्रेस काउन्सिलको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । वर्तमान समयमा गलत सूचना (मिसइन्फरमेसन) र दुष्प्रचार (डिसइन्फरमेसन) सञ्चार क्षेत्रका प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै त्यसको पहिचान गरी समाधानमुखी ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
त्यस्तै, सञ्चार क्षेत्रलाई बलियो बनाउन सकिए त्यसबाट सबैभन्दा बढी लाभ सञ्चार जगतले नै लिने उल्लेख गर्नुहुँदै सञ्चारमन्त्री तिमिल्सिनाले त्यसका लागि काउन्सिलले आवश्यक सकारात्मक हस्तक्षेप गर्नुपर्नेसमेत उहाँले बताउनुभयो ।
पुराना कानुनलाई समयानुकूल परिमार्जन गर्दै लैजान लागिएको उल्लेख गर्नुहुँदै सञ्चारमन्त्री तिमिल्सिनाले मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकको मस्यौदामाथि छलफल अगाडि बढिसकेको बताउनुभयो ।
साथै उहाँले क्षमता अभाव भएका संस्थाले प्रभावकारी काम गर्न नसक्ने भन्दै प्रेस काउन्सिललाई पनि थप जिम्मेवार, सक्षम र प्रभावकारी संस्थाका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्नुभयो । चुनौतीपूर्ण समयमा दुवै नियामक निकायको नेतृत्व सम्हाल्नुभएको उल्लेख गर्दै कानुन र विधिको सीमाभित्र रहेर नागरिकको हितलाई केन्द्रमा राखी काम गर्न निर्देशनसमेत दिनुभयो ।
त्यसैगरी दूरसञ्चार क्षेत्रका समस्या समाधानमा विशेष ध्यान दिन र कानुनी जिम्मेवारीअनुसार निष्पक्ष रूपमा काम गर्नुपर्ने सञ्चारमन्त्री डा तिमिल्सिनाले बताउनुभयो । नागरिकको स्वार्थ र सेवाको गुणस्तरलाई केन्द्रमा राखेर अधिकारको दुरुपयोग नगरी काम गर्नुपर्नेमा जोड दिँदै उहाँले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्न सुझाव दिनुभयो ।
दुवै संस्थालाई मन्त्रालयले आवश्यक नीतिगत तथा संस्थागत सहयोगका लागि उपयुक्त वातावरण बनाउन सदैव तयार रहेको उल्लेख गर्दै उहाँले सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतका दुई महत्वपूर्ण नियामक संस्थाको नेतृत्व सम्हालेकाले जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्न आग्रह गर्नुभयो ।
प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठले सञ्चार माध्यमको स्वरूप परिवर्तन भइसके पनि प्रेस काउन्सिलसम्बन्धी कानुन पुरानो भइसकेको उल्लेख गर्दै त्यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्दै पत्रकारितामा स्वनियमनको प्रणालीलाई थप सुदृढ बनाउने आफ्नो प्राथमिकता रहने उहाँले बताउनुभयो । सरकार र सञ्चार क्षेत्रबीच विश्वासको पुलका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले प्रेस स्वतन्त्रताको संरक्षणसँगै जिम्मेवार पत्रकारिताको प्रवद्र्धनमा काउन्सिल सक्रिय रहने बताउनुभयो ।
त्यसैगरी, नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार क्षेत्रका विद्यमान कमी–कमजोरी हटाउँदै समस्या समाधानमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कानुन, नियम र नीतिको परिधिभित्र रहेर दूरसञ्चार क्षेत्रको विकास, सेवा विस्तार तथा सुशासनका लागि काम गर्ने उहाँले बताउनुभयो । उहाँले नागरिकमुखी, उत्तरदायी र प्रभावकारी दूरसञ्चार क्षेत्र निर्माणलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने उल्लेख गर्दै आवश्यक निर्णय लिन आफू दृढतापूर्वक अघि बढ्ने उल्लेख गर्नुभयो ।











