काठमाडाैं। पोर्चुगिज टोलीका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले मंगलबार पदबाट राजीनामा दिएका छन् ।
फिफा विश्वकप फुटबलको अन्तिम १६ को खेलमा पोर्चुगल स्पेनसँग १–० गाेलले पराजित भएसँगै उनले पदबाट राजीनामा दिएका हुन् ।
पोर्चुगिज टोली विश्वकपको प्रारम्भिक नकआउट चरणबाटै बाहिरिए पनि प्रशिक्षक मार्टिनेजले यस नतिजालाई टोलीको ‘असफलता’ भन्न नमिल्ने दावी गरेका छन् ।
खेलको ९१ औं मिनेटमा स्पेनका वैकल्पिक खेलाडी मिकेल मेरिनोले गरेको निर्णायक गोल नै पोर्चुगललाई घर फर्काउन पर्याप्त बन्यो । सोही खेलसँगै पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको पनि विश्वकप यात्रा सदाका लागि अन्त्य भएको छ ।
खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक मार्टिनेजले भनेका छन्, “यो हार अवश्य पनि पीडादायी छ, तर यसलाई म असफलता मान्दिनँ । खेलाडीहरूले मैदानमा आफ्नो सर्वस्व सुम्पिएका हुन् ।” उनले रोनाल्डोको खेल जीवन र टोलीको एउटा महत्त्वपूर्ण अध्याय समाप्त भएको उल्लेख गर्दै पोर्चुगिज फुटबल अब नयाँ दिशामा अघि बढ्नुपर्ने बताएका छन्।
४१ वर्षीय रोनाल्डोले इतिहासकै सबै भन्दा ठूलो मञ्चबाट आँसुसहित बिदा लिएसँगै उनले राजीनामा दिएका हुन् । राजीनामामा उनले स्पेनविरुद्धको यो हारलाई टोलीको एउटा स्वर्णिम युगको अन्त्य भएकाे बताएका छन् । आफ्नो खेल जीवनमा विश्वकपको सुनौलो ट्रफी उचाल्न नपाए पनि रोनाल्डोले फुटबल इतिहासमै विरलै खेलाडीले पाउने गौरवमय कीर्तिमानहरू आफ्नो नाममा लेखाइसकेका हुन् ।











