३० जेष्ठ २०८३, शनिबार
,
Latest
आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित



फाइल फोटो
अ+ अ-

कञ्चनपुर। पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिमका सडक योजना प्रभावित भएका छन् ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरअन्तर्गत सञ्चालनमा रहेका कालोपत्रसम्बन्धी अधिकांश आयोजनाको कार्य अगाडि नबढ्दा चालु आर्थिक वर्षको पुँजीगत खर्चसमेत प्रभावित हुने देखिएको छ । अलकत्रा (विटुमिन) लगायत निर्माण सामग्रीको अभावले निर्माण अगाडि बढ्न नसकेको हो ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर हरिसप्रसाद जोशीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा मुसेपानी खोला पुल र दोदा–देखतभुली पुल निर्माण सम्पन्न भई हस्तान्तरण भए पनि सडक कालोपत्रसम्बन्धी धेरै आयोजना प्रभावित भएका छन् । ठेक्का सम्झौतामा मूल्यवृद्धि समायोजनको व्यवस्था नगरिँदा करिब ७० प्रतिशत आयोजना ठप्प अवस्थामा पुगेका हुन् ।

अत्तरिया–सहजपुर सडकखण्डको ३१ दशमलव शून्य छ किलोमिटर आवधिक मर्मत कार्य पूर्ण रूपमा बन्द छ । यस्तै, वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरका नौ वटा सडक योजनाको कालोपत्र निर्माण रोकिएको छ । गड्डाचौकी–चिसापानी सडकखण्डमा नियमित पटके मर्मत तथा स्तरोन्नति कार्य आंशिक रूपमा मात्रै सञ्चालन भइरहेको छ ।

प्रभावित आयोजनामध्ये चाँदनी–भीमदत्त–ब्रह्मदेव–पञ्चेश्वर–झुलाघाट सडक, झिलमिला–भुडा–बेलौरी भन्सार हुँदै आनन्द बजारसम्मको बोर्डर करिडोर सडक, बेलौरी–कालागौडी–सिक्लपट्टी सडक, कृष्णपुरको बिचुवा–राजघाट सडक, वनकट्टा–फूलबारी सडक, हर्दही–बबपुर–चमकलपुर सडक, जुगेडासम्मको कालोपत्र सडक, डुडेझारी हाइड्रोपावर सडक तथा चौमाला–गर्भादरबार–रिठेखोला–सिपिनगर र घोडाघोडी नगरपालिकाको हरिनगरदेखि जोशीपुर गाउँपालिकासम्मको कालोपत्र रणनीतिक सडकलगायत आयोजना रहेका छन् ।

त्यसैगरी राष्ट्रिय राजमार्गअन्तर्गत चाँदनी–भीमदत्त–ब्रह्मदेव–पञ्चेश्वर–झुलाघाट (एनएच–६७), चिसापानी–गड्डाचौकी सडकखण्ड (एनएच–०१) तथा अत्तरिया–सहजपुर–फल्टुँडे सडकखण्ड (एनएच–६६) का निर्माण कार्यसमेत प्रभावित भएका छन् ।

ठेक्का सम्झौता गर्दा मूल्यवृद्धि समायोजनसम्बन्धी प्रावधान नराखिएकाले निर्माण व्यवसायीलाई अतिरिक्त भुक्तानी दिन कानुनी समस्या देखिएको छ । निर्माण सामग्रीको अभावसमेत अर्को चुनौती बनेको छ । विशेषगरी विटुमिन, डिजेल, पेट्रोललगायत सामग्रीको मूल्य बढ्दा कालोपत्रसम्बन्धी काम सबैभन्दा बढी प्रभावित भएको हो ।

आर्थिक वर्ष समाप्त हुन एक महिना पनि बाँकी नरहँदा पुँजीगत खर्च न्यून रहेको अवस्था छ । योजनाहरू समयमै सम्पन्न नहुँदा विकास बजेट खर्च हुन नसक्ने र त्यसले स्थानीय अर्थतन्त्रमा प्रतिकुल असर पर्ने सूचना अधिकारी जोशी बताउनुहुन्छ ।

“ठेक्का सम्झौताका शर्तअनुसार निर्धारित समयभित्र काम सम्पन्न नभए निर्माण व्यवसायीले जरिवाना तिर्नुपर्ने हुन्छ”, सूचना अधिकारी जोशीले भन्नुभयो, “त्यसपछि पनि काम सम्पन्न नभए ठेक्का सम्झौता अन्त्य गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइने व्यवस्था छ ।” निर्माण सामग्रीको मूल्यवृद्धिसम्बन्धी नीतिगत निर्णय छिट्टै नभए चालु आर्थिक वर्षभित्र धेरै आयोजना सम्पन्न हुने सम्भावना न्यून रहेको बताइएको छ । रासस