काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल भारतको आफ्नो तीन दिनको औपचारिक भ्रमण सम्पन्न गरी आईतवार स्वदेश फर्किनुभएको छ ।
परराष्ट्रमन्त्री खनालसहितको प्रतिनिधि मण्डल आईतवार साँझ स्वदेश फकिएको हो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री खनालले भ्रमण उपलब्धिमूलक रहेको दाबी गर्दै नेपाल–भारत सम्बन्धलाई व्यवहारिक र प्रविधिमैत्री बनाउने दिशामा ठोस प्रगति भएको बताउनु भयो ।
उहाँले भ्रमणका क्रममा सन् २०२३ मा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाबीच भएको समझदारीअनुसार व्यक्तिदेखि व्यक्तिसम्म हुने सीमापार भुक्तानी कारोबारको पूर्ण सञ्चालन शुरु गरिएको गर्ने आपसि समझदारी भएको बताउनु भयो ।
मन्त्री खनालले भारत सरकारको विकास सहायतामा महाभूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत निर्माण सम्पन्न भएका ७२ स्वास्थ्य संस्था र १२ सांस्कृतिक सम्पदा पुनर्निर्माण परियोजना औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको समेत बताउनुभयो ।
उहाँले प्रविधिको क्षेत्रमा काठमाडौं विश्वविद्यालयको स्कूल अफ इन्जिनियरिङअन्तर्गतको सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर र भारतको डिजिटल इण्डिया भाषिनी डिभिजनबीच ‘भ्वाइस फस्र्ट’ भाषा अनुवाद मञ्च विकासका लागि राष्ट्रिय डिजिटल सार्वजनिक पूर्वाधार सहनिर्माण गर्ने सम्झौतापत्र आदानप्रदान गरिएको समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सन् २०२३ जुन महिनामा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाबीच भएको समझदारी पत्र बमोजिम व्यक्तिदेििखव्यक्ति सीमापार भुक्तानी कारोबारको पूर्ण रूपमा शुरुवात गरिएको छ । नेपालमा २०७२ सालको भूकम्पपछि पुनर्निर्माणअन्तर्गत भारत सरकारको विकास सहायतामा निर्माण सम्पन्न भएका स्वास्थ्य क्षेत्रका ७२ वटा र सांस्कृतिक सम्पदा क्षेत्रका १२ वटा परियोजनाहरू औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । साथै काठमाडौं विश्वविद्यालयको स्कूल अफ इन्जिनियरिङ अन्तर्गतको सेन्टर फर डिजिटल पब्लिक इन्फास्ट्रक्चर र भारतको डिजिटल इन्डिया भाषिनी डिभिजनबीच ‘भोइस फस्र्ट’ भाषा अनुवाद मञ्चका लागि राष्ट्रिय डिजिटल सार्वजनिक पूर्वाधारको सहनिर्माण गर्ने सम्झौता पत्र आदानप्रदान भएको छ । यसले एआई प्रविधिको विकासमा सहयोग विश्वास लिएका छौँ ।’
मन्त्री खनालले भारतीय विदेशमन्त्री एस जयशंकर विभिन्न क्षेत्रमका आपसि सहकार्य, कुटनीति एवं सीमासम्बन्धी विषयमा छलफल भएको समेत उल्लेख गर्नुभयो । उहाँले नेपाल र भारतबीच विद्यमान सीमा विवाद समाधान गर्न दुवै देशका संयन्त्रहरुले काम थालेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सीमासँग सम्बन्धित विषयलाई कुटनीति र अहिले भइरहेका संयन्त्रमार्फत समाधान गर्ने भन्ने पहिलेदेखिकै पोजिसन हो । अहिले सोही ढंगले संयन्त्रले काम गरिरहेका छन् । अहिले कूटनीतिक ढंगबाट समाधान गर्ने भन्ने ढंगमा छलफल भयो ।’
मन्त्री खनालले भैरहवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालनको विषयमा समेत छलफल भएको उल्लेख गर्दै छिट्टै प्राविधिक समितिको बैठक बस्ने जानकारी समेत दिनुभयो । मन्त्री खनाल भारतीय विदेशमन्त्री एस.जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा जानुभएको हो । –न्युज एजेन्सी नेपाल











