७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

छठको दोस्रो दिन निर्जल उपवास



अ+ अ-

काठमाडौँ । छठपर्वको दोस्रो दिन अर्थात् कात्तिक शुक्ल पञ्चमीका दिनमा आज व्रतालु निर्जल उपवास बसेका छन् । जल अर्थात् पानीसमेत नखाई व्रत बसिने भएकाले यस दिनको विशेष महत्व रहेको छ । षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिने तयारीस्वरुप आज निर्जल उपवास बस्ने गरिएको हो ।

यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरिन्छ । चन्द्रमालाई खीर चढाएपछि व्रतालुले एक छाक खान्छन् । यसलाई खरना भनिन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि शुरु हुने छठ सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि समापन हुन्छ ।

छठपर्वको मुख्य दिन अर्थात् कात्तिक शुक्ल षष्ठीका दिन व्रतालुले ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवं छठी मातालाई चढाउँछन् । यसरी चढाइने रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ ।

षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ ।

सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । कात्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ््ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट शुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ । सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहित केटाकेटीले सुयोग्य वरवधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ ।

यस वर्ष कात्तिक १६ गते बेलुकी अस्ताउँदो र कात्तिक १७ गते बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ । राजधानीका वाग्मती किनारस्थित गुह्येश्वरीबाट गौरीघाट, कमलपोखरी, थापाथलीलगायत स्थानमा विगत वर्षदेखि नै छठ मनाइन्थ्यो । यस वर्षदेखि नागपोखरीमा पनि छठ मनाउन लागिएको छ ।

छठ मनाइने स्थानमा घाट निर्माण भइरहेको छ । नदी र पोखरी क्षेत्रमा साजसज्जालगायत तयारी भइरहेको आयोजक समितिले जनाएको छ । गुह्येश्वरी क्षेत्रमा मात्रै लाखौँ भक्तजन छठ मनाउन आउने गर्छन् । गुह्येश्वरीबाट गौरीघाटसम्म ६५६ छठ घाट बनाउन लागिएको गुह्येश्वरी छठ समितिका संयोजक रामबाबु महासेठले बताउनुभयो ।