१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौन्दर्य बिगारेको भन्दै फुटपाथका संरचना हटायो



अ+ अ-

सुर्खेत । बजारको सौन्दर्य बिगारेको भन्दै वीरेन्द्रनगर नगरपालिकाले फुटपाथमा सञ्चालित पसल हटाएको छ । मङ्गलगढी चोक, बसपार्कलगायतका क्षेत्रमा फुटपाथ व्यवसायीले सडक, चोक अतिक्रमण गरी बनाइएका संरचना नगरपालिकाले हटाएको हो ।

मुख्य चोक, सडक क्षेत्रमा पसल व्यवसाय सञ्चालन गर्दा प्रदेश राजधानीको सौन्दर्य झन् कुरुप बन्न पुगेको थियो । नगरपालिकाले सोमबारदेखि दुई डोजर प्रयोग गरेर फुटपाथमा बनाइएका व्यावसायिक संरचना हटाउन शुरु गरेको हो ।

विकल्पबिनै आफूहरुले वर्षौंदेखि सञ्चालन गर्दै आएको स्थानमा डोजर चलाएपछि व्यवसायी आक्रोशित बनेका छन् । मङ्गलगढी चोकमा ठेलामा कस्मेटिक पसल सञ्चालन गर्दै आउनुभएकी पार्वती पौडेलले नगरपालिकाले तत्काल व्यापारिक स्थानको व्यवस्था गर्नुपर्ने बताउनुभयो । फुटपाथ व्यवसायीले कर तिर्नुका साथै फोहरमैलाको व्यवस्थापन आफँैले गर्ने गरेको बताएका छन् । व्यवसाय सञ्चालन गरेवापत व्यवसायीले नगरपालिकालाई मासिक रु ३०० र सरसफाइ शुल्क रु १०० तिर्दै आएका थिए ।

नगरपालिका वातावरण तथा विपद् अनुगमन उपशाखा प्रमुख यामलाल गिरीले फुटपाथ व्यवसायीको माग सम्बोधन गरिने बताउनुभयो । उहाँका अनुसार सडकमा व्यवसाय गर्ने ७०० बढी व्यवसायी छन् । तीमध्ये ८८ ले मात्र व्यावसायिक विवरण भरेका छन् । “विवरण पेश गरेका व्यवसायीलाई उपयुक्त ठाउँमा पूर्वाधार निर्माण गरी व्यवसाय सञ्चालनको व्यवस्था गर्छौं”, उहाँले भन्नुभयो, “फुटपाथका संरचना हटाउन थुपै्रपटक अनुरोध गर्दासमेत अटेर गरेपछि डोजर चलाउन बाध्य भएका हौँ ।”